शान्ति प्रक्रिया र संविधान लेखन प्राथमिकता

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ८:०७ मा प्रकाशित

इलाम ८ मङ्सिर–नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले जनताको समर्थनबाट आफूहरूलाई बढी जिम्मेवारी थपिएको बताएका छन । उनले भने,“शान्ति प्रक्रिया र संविधान लेखन कार्य हाम्रो प्राथमिकता हो ।” Jhalanath-nembang
इलाम चोकबजारमा शनिवार आयोजित विजयी सभालाई सम्बोधन गर्ने क्रममा नेता खनालले शान्ति प्रक्रिया र संविधान निर्माण अझै टुङ्गोमा नपुगेकाले यसलाई टुङ्ग्याउन जरूरी रहेको बताए । देश विकासको प्रक्रियामा अब मुलुक उन्मुख हुने भन्दै उनले संविधानसभाको निर्वाचनको परिणाम सबैले स्वीकार गर्नुपर्नेमा जोड दिए ।
विजयी जुलुसमा सहभागी नेता खनालले सबैको सहमति र सहकार्यमा मुलुकलाई अग्रगतितिर बढाउनुपर्ने भन्दै सरकार निर्माण गर्ने सवालमा सबै मिल्नुको विकल्प नरहेको बताए ।
खनालले ६ महिनाभित्रमा संविधानको मस्यौदा र एक वर्षभित्रमा जनतालाई नयाँ संविधान दिने दाबी गरे । एनेकपा (माओवादी)लाई संयमित हुन आग्रह गर्दै खनालले भने‘पराजयको पीडा सबैलाई हुन्छ, आवेशमा आएर कुनैपनि निर्णय गर्नुहुन्न ।’
अर्का एमालेका विजयी नेता सुवासचन्द्र नेम्वाङले जनताको दुई वटा आशङ्कामध्ये एउटा मेटिएको र अर्काे पनि मेटिने बताए । “संविधानसभाको चुनाव हुन्छ कि हुँदैन् भन्ने आशङ्का थियो, अब संविधान बन्छ बन्दैन भन्ने आशङ्का छ” नेम्वाङले भने ‘अब जनताको शिर निहुरिन दिन्नौँ ।’ देश र नेपाली जनताको भविष्य अब उज्वल हुने बताउँदै उनले देश विकासमा जुट्न आग्रहसमेत गरे ।
नेता खनालले १७ हजार ३४२ मत प्राप्त गरेका छन भने नेम्वाङले १४ हजार ९३० मत प्राप्त गरेका छन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us