
सर्लाही, ७ मंसिर– सद्भावाना पार्टीले संविधानसभा निर्वाचनमा धाँधली भएको ठहर गरेको छ । सदभावनाका विशेष दललाई जिताउने गरि नियोजित रुपमा निर्वाचन आयोगले धाँधली गरेको बताएका छन् ।
अध्यक्ष राजेन्द्र महतोले ‘यस्तो चुनावबाट संघीयतासहितको संविधान नबन्ने’ बताउँदै भनेका छन्, ‘दोस्रो संविधान सभाको निर्वाचन स्वच्छ, निश्पक्ष, धाँधलीरहित र भयमुक्त वातावरणमा गराउन पर्नेमा, सो नभई बिभिन्न जिल्लाहरुको निर्वाचन क्षेत्रहरुमा सम्पूर्ण निर्वाचन प्रक्रियामा धाँधली भएको पाइएको प्रति पार्टीको गम्भीर ध्यानआकर्षण भएको छ ।’
शुक्रबार मलगंवामा पत्रकार सम्मेलन गर्दै वितरण गरेको विज्ञप्तिमा महतोले भनेका छन्, ‘विभिन्न जिल्लाको निर्वाचन क्षेत्रमा प्रशासनको सहयोगले बुथ कब्जा गरेको, सम्पूर्ण प्रकृयामा मतदान केन्द्रदेखि मतगनण स्थलसम्म मतपेटिका ल्याउने प्रक्रियानै शंकास्पद देखिएको, मतगनाको क्रममा मतपेटीकाको शिलबन्दी तोडिएको पाइएको, निर्वाचन अधिकृतिको हस्ताक्षर८विनाको मतपत्र भेटिएको, मतदान भन्दा कम वा बढी मतपत्र पाइएको र यस्ता प्रकृयाको विरोध गर्दागर्दै पनि मतगणना जारी राखि सुनियोजित रुपमा कुनै खास दल र उम्मेदवारलाई विजयी गराउन प्रशासनको प्रत्यक्ष संलग्नता पाइएको प्रति सद्भावना पार्टी यस्ता कार्यको घोर भत्र्सना गर्दछ ।’
‘यस्तो निर्वाचनबाट संघीयतासहितको संविधान बन्न नसक्ने सदभावना पार्टीको ठहर रहेको बताउँदै महतोले वक्तव्यमा ‘आगामी दिनमा कठोर संघर्ष गरेर भए पनि संघयि लोकतान्त्रिक गणतान्त्रत्मक संविधान निर्माणप्रति सदभावना पार्टी पूर्ण प्रतिवद्ध रहेको छ ।’
मतपेटीका सुरक्षामा पार्टी प्रतिनिधिलाई बस्न नदिएको, गणना गर्ने बेलामा मात्र अर्को कोठावाट मतपत्र ल्याएको, मत खसेको मुचुल्का नदेखाएको, अधिकांश मतपत्रमा अधिकृतको हस्ताक्षर नभएको, मतपत्रमा लाहाछाप नलगाएको लगायतका कारण धाँधली भएको सद्भावना पार्टीले जनाएको छ ।
त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीले पनि निर्वाचनमा धाँधली भएको बताएको छ । सो पार्टीका उमेदवार रामवाबु राय यादवले मतदान लगत्तै देशभरी एमाले र काँग्रेसलाई जिताउने उदेश्यले विदेशी इशारामा धाँधली ठोकुवा गरेका छन् ।