धाँधली पुष्टि भएपछि पुनः मतदान

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ४:०५ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर–संविधानसभा चुनावमा कुल खसेको मतभन्दा बढी मतपत्र फेला परेर रद्द गरिएको सप्तरी क्षेत्र नं. २ अन्तर्गत एक केन्द्रमा पुनः मतदान हुने भएको छ । विभिन्न दलका उम्मेदवारले असन्तुष्टि जनाएपछि क्षेत्र नं. २ अन्तर्गतको वर्सान गाविसस्थित एउटा मतदान केन्द्रमा शनिबार मतदान हुन लागेको हो । शनिबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

यसैबीच, छ वटा निर्वाचन क्षेत्र रहेको सिरहामा निर्वाचनको मतगणना प्रक्रिया एकीकृत नेकपा माओवादी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र फोरम लोकतान्त्रिकले बहिष्कार गरेका छन् ।

मतदान सही तरिकाले सम्पन्न भए पनि मतपेटीका सिरहा सदरमुकाम ल्याउँदा बाटोमै परिवर्तन गरिएको भन्दै मतगणना प्रक्रिया बहिष्कार गरिएको हो । तीनै पार्टीले मतगणनामा खटिएका आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाएका छन् ।

फोरम गणतान्त्रिकका तर्फबाट क्षेत्र नं. २ का उम्मेदवार राजलाल यादवले मतपेटीका परिवर्तन गरेर धाँधली गरेको भन्दै मतगणना प्रक्रिया बहिष्कार गरेको बताए ।

एकीकृत नेकपा माओवादी भने देशभरको चुनावी प्रक्रियाको पुनरावलोकन हुनुपर्ने माग गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us