एमाओवादीप्रति कुटनीतिज्ञको चासो

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ३:०८ मा प्रकाशित

unnamedकाठमाण्डु, ७ मंसिर– एकीकृत नेकपा माओवादी दोस्रो संविधानसभा निर्वाचनबाट तेस्रो स्थानमा झरेपछि विदेशी राजदूतहरुको चासो बढेको छ । शुक्रबार युरोपेली युनियनका राजदुतहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर निर्वाचन परिणामबारे चासो राखेका छन् ।
त्यसअघि अमेरिकी राजदुत पीटर डब्लु बोडेले छुट्टै भेटवार्ता गरेका थिए ।

अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको भेटवार्तामा निर्वाचनमा धाँधली भएको भन्ने एमाओवादीको दावीबारे राजदूतहरुले चासो व्यक्त गरेका थिए । त्यसको आधारबारे उनीहरुको जिज्ञासा थियो ।

जवाफमा प्रचण्डले मतपेटिकामा लाहाछाप नलाग्नु, पार्टी प्रतिनिधिलाई मतपेटिका राखेको स्थानमा जानै नदिनु, मत खसेको भन्दा बढी मतपत्र भेटिनुलगायतका गतिविधिले शंका पैदा गरेको बताएका थिए । धेरै शंकास्पद गतिविधि पाइएकोले आफूहरुले निर्वाचनमा पुनरावलोकन गर्न माग गरेको प्रचण्डले स्पष्ट पारेको उनको निजी सचिवालयले जनाएको छ ।

जवाफमा राजदुतहरुले निर्वाचन सफल पार्न प्रचण्डले खेलेको भुमिकाको प्रशंसा गर्दै नेपाललाई नयाँ संविधान निर्माण गरी शान्ति र विकासको बाटोमा अघि बढाउन पनि सकृय हुन सुझाव दिएका थिए ।

यसअघि विहीबार साँझ पनि अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले प्रचण्डलाई भेटेर निर्वाचनबारे चासो राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us