
काठमाण्डु, ६ मंसिर– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादी कुनै पनि हालतमा संविधानसभामा सहभागी हुनुपर्ने बताएका छन् ।
बीबीसी नेपाली सेवाका लागि बिहीबार राति रवीन्द्र मिश्रसँग कुरा गर्दै उनले माओवादीबिना संविधान जारी नहुने बताए । उनले माओवादी संविधानसभामा नआउँदा प्रतिगामी शक्तिलाई फाइदा पुग्ने र संविधानसभा असफल हुने उल्लेख गरे ।
‘मैले प्रचण्डजीलाई पनि भनुको छु’, नेपालले भने, ‘तपाइंहरु संविधानसभामा आउनुस्, तपाईंहरु आउनुभएन भने नेपालमा संविधानसभा असफल भएको सन्देश जान्छ ।’
उनले एमाले ठूलो पार्टी भए पनि अहंकार नगर्ने र एमाओवादीलाई मिलाएर लैजाने बताए । उनले सरकार गठन र संविधान निर्माणका लागि सरसल्लाह गरेर जान तयार रहेको उल्लेख गरे ।
काँग्रेस ठूलो पार्टी भएको अवस्थामा एमाले र माओवादी मिलेर उसलाई ठीक ठाउँमा ल्याउन सकिने भनाइ नेपालको छ । उनले माओवादी पराजित मानसकिताबाट मुक्त हुनुपर्ने र लोकतन्त्रका आधारभूत मूल्यमान्यता स्वीकारर्न तयार हुनुपर्ने बताए ।
मतपत्रको सिल तोडिएको र खसेको भन्दा बढी मत भएको स्थानका बारेमा छलफल गरी निकर्षमा पुग्न सकिने उनले औंल्याए ।