हार स्वीकार्न एमाओवादीलाई काँग्रेसको आग्रह

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ८:११ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– नेपाली काँग्रेसले दोस्रो संविधानसभा निर्वाचन परिणाम स्वीकार गर्न एकीकृत माओवादीलाई आग्रह गरेको छ ।
sushil-daसभापति सुशील कोइरालाले बाँके र उपसभापति रामचन्द्र पौडेलले राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी जनताले गरेको फैसला स्वीकार गर्न माओवादी नेतृत्वलाई आग्रह गरेका हुन् ।

नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा सभापति कोइरालाले माओवादीले परिणाम स्वीकार नगरे दुर्भाग्यपूर्ण हुने टिप्पणी गरे । ‘प्रचण्डजीजस्ता अनुभवी नेताले मतपरिणाम अस्वीकार गर्छु भन्नु राम्रो होइन’, कोइरालाले भने, मतपरिणाम अस्विकार गरे माओवादीकै लागि घातक हुन्छ ।’

कांग्रेसले २०३६ सालको जनमतसंग्रह र पहिलो संविधानसभा निर्वाचनको पराजयलाई स्विकार गरेको स्मरण गर्दै कोइरालाले त्यसबाट सिकेर अघि बढ्न सुझाव दिए । उपसभापति पौडेलले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी संविधानसभा निर्वाचनलाई जितहार भन्दा माथि राखेर हेर्नुपर्ने बताए ।

‘संविधानसभाको निर्वाचनलाई कुनै दलले विजय र पराजयको दायराभन्दा माथि उठेर जनताको आकांक्षा पूरा गर्ने र संविधान निर्माण  गर्ने अवसरका रुपमा लिनुपर्दछ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ’, यो निर्वाचन सरकार बनाउनका लागि मात्र नभएर मुलत: संविधान निर्माणका लागि भएको हो भन्ने सबैलाई हेक्का राख्नुपर्दछ ।’

निर्वाचनमा सहभागी भएपछि परिणाम स्वीकार गर्नु राजनीतिक, नैतिक, विधि, परम्परा एवम् लोकतान्त्रिक मूल्य र मान्यताका दृष्टिले अनुचित हुने पौडेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us