स्याङजामा पुन: निर्वाचन गर्न कांग्रेसको माग

काठमाण्डु टुडे २०७० मंसिर ६ गते १:३४ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर–नेकपा एमालेले स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं ३ का ९ मतदान केन्द्रमा धाँधली गरेको भन्दै नेपाली कांग्रेसले पुन: मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ । नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं ३ का उम्मेदवार मोहनप्रसाद पाण्डेले नेकपा एमालेले ती मतदान केन्द्र कब्जामा लिई एकलौटी ढंगले मतदान गरेकोले ति मतदान केन्द्रमा भएको निर्वाचन तुरुन्त बदर गरी पुन: अर्को निर्वाचन गराउन निर्वाचन आयोगसंग माग गरेका हुन् ।

उम्मेदवार पाण्डेले पेलाकोट गाविसमा रहेको महेन्द्र दर्शन प्रा.वि. ‘क’ र ‘ख’ मतदान केन्द्र, सोही गाविसकै कालिका प्रा.वि. पड्काङ तथा राष्ट्रिय मा.वि. ‘क’ र ‘ख’, सरस्वती उ.मा.वि. खानीडााडा ‘क’ र ‘ख’, आलमदेबी गाविसको अमरदिप प्रा.वि. देउराली र तुलसीभन्ज्याङ गा.वि.स.को गा.वि.स. भवनमा रहेको मतदान केन्द्रमा भएको मतदान बदर गर्न माग गरेका हुन् ।

पेलाकोट गाविसमा रहेका ३ हजार २ सय ८१ मतमा  ३ हजार दुई सय ७ मत नेकपा एमालेले बुथ कव्जा गरी एकलौटी खसालेको आरोप नेपाली कांग्रेसको छ ।

नेपाली कांग्रेसले दोलखा १ , तनहु ३ र रुकुम २ मा पुन: मतदानको माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us