एमाओवादी उम्मेदवारबाट मतगणना बहिस्कार

काठमाण्डु टुडे २०७० मंसिर ५ गते २३:०० मा प्रकाशित

काठमाण्डु ६ मंसिर–एकीकृत नेकपा माओवादीले संबिधानसभा निर्वाचनको जारी मतगणना प्रक्रिया स्थगित गर्न माग गरेको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बिहान १ बजे केन्द्रीय कार्यालय बैठक बस्नु अघि एकीकृत माओवादीले काठमाण्डु बाहिर रहेका व्यूरो इन्चार्जसहितका शिर्ष नेताहरुसँगको परामर्शपछि त्यस्तो निर्णय गरेको हो । काठमाण्डु बाहिर रहेका शिर्ष नेताहरु मतगणना स्थगित गर्न माग गर्दै काठमाण्डु फर्कन थालेका छन ।

माओवादी केन्द्रीय कार्यालयको राती बसेको बैठकले संबिधानसभा निर्वाचनमा बिभिन्न खाले षडयन्त्र र चलखेल भएको ठहर गरेको प्रवक्ता अग्नी सापकोटाले बताए । एकीकृत माओवादीको केन्द्रीय कार्यालयको अर्को बैठक अहिले सात बजे काठमाण्डुमा बस्दैछ । बैठकपछि नौ बजे पत्रकार सम्मेलन गर्ने सो पार्टीले जनाएको छ ।

प्रवक्ता सापकोटाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ‘संविधानसभा निर्वाचनमा विभिन्न खाले षड्यन्त्र र चलखेलका कारण नेपाली जनताको अभिमत र अपेक्षा अनुसार जारी मतगणना प्रक्रिया अघि बढेको नदेखिएकोले यो प्रक्रियालाई यही स्थगित गर्न माग गर्ने निर्णय पार्टी केन्द्रीय कार्यालयको बैठकले गरेको यसै विज्ञप्ति मार्फत जानकारि गराइन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us