संविधानसभामा नजाने एमाओवादीको घोषणा

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ८:१२ मा प्रकाशित

1काठमाण्डु, ६ मंसिर–एकीकृत नेकपा माओवादीले देशभर जारी संविधानसभा निर्वाचनको मतगणना पुनरावलोकन गर्न माग गरेको छ । अन्यथा संविधानसभामा सहभागी नहुने एमाओवादीको धारणा छ ।

विहीबार विहान बसेको केन्द्रीय कार्यालयको बैठकको निर्णय सार्बजनिक गर्न पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मतगणनामा धाँधली भएकाले पुनरावलोकन हुनुपर्ने माग गरे ।

यसलाई निर्वाचन आयोगलगायत सबैले सकारात्मक ढंगले लिने विश्वास गर्दै उनले अन्यथा संविधानसभामा सहभागी नहुने घोषणा गरे । शान्तिप्रकृया र अन्तरिम संविधानको स्पीरिटमा देशभर शान्तिपूर्ण आन्दोलन शुरु गर्ने प्रचण्डको भनाइ छ । ‘१२ बुँदे र शान्ति सम्झौताप्रति प्रतिवद्ध रहँदै शान्तिपूर्ण राजनीतिमा रहेर दलहरुसँग सहकार्य गर्छौं,’ प्रचण्डले भने ।

वैद्य माओवादीसँग सहकार्य हुन्छ की हुँदैन भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने, ‘देशमा यसरी नै षड्यन्त्र गरेर अग्रगमनको बाटो रोक्न खोजियो भने वैद्यजी लगायत जो–जो परिर्वतनका पक्षमा छन्, उनीहरुसँग कार्यगत एकता हुन्छ । ’

प्रेस वक्तव्य
२०६२ मंसीर ७ गतेको ‘बाह्र बुँदे समझदारी’ र २०६३ मंसीर ५ गतेको ‘विस्तृत शान्ति सम्झौता’ बमोजिम देशमा २०६४ चैत्र २८ गते पहिलो संविधानसभाको निर्वाचन र २०७० मंसीर ४ मा दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भएको सर्वविधितै छ । १० वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको मर्म र भावना अनुरुप संविधानसभालाई ‘राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सबै क्षेत्रका वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुर्नसंरचना’ गर्ने माध्यमका रुपमा ती समझदारी र सम्झौतामा स्वीकार गरिएको पनि स्पष्ट नै छ । परन्तु जुन षड्यन्त्र पूर्ण ढंगले पहिलो संविधानसभाको अवसान गराइयो र दोस्रो संविधानसभाको निर्वाचन सिलसिलेवार ढंगले परिवर्तन र अग्रगमनको एजेण्डालाई कमजोर पार्ने र यथास्थितिवाद तथा प्रतिगमनको आधार मजबुद पार्ने गरी हालै सम्पन्न गरियो । त्यसप्रति हामी आफ्नो असावधानी र उदारताप्रति आत्मालोचित हुँदै आम परिवर्तनकामी जनसमुदायको ध्यानाकर्षण गर्न चाहन्छौं ।
दोस्रो संविधानसभा निर्वाचनको क्रममा वैधानिक रुपले निर्वाचित सरकारलाई विस्थापित गरेर अन्तरिम चुनावी सरकार गठन गर्ने, पहिलो संविधानसभाको निर्वाचनमा सहमतिले अपनाएको मतदाता सुची संकलन विधि फेर्ने आदि कुराले यो निर्वाचनलाई सुरु देखिनै शंकाको घेरामा राखेकै थियो । तैपनि संविधानसभाको यो दोस्रो निर्वाचनको वातावरण बनाउन हामीले आफ्नो तर्फबाट अधिकतम् प्रयत्न गरिएको तथा जनताको मतको सम्मान गर्ने हाम्रो स्पष्ट प्रतिबद्धता रहेको तथ्य सर्वविधितै छ । तर अहिले निर्वाचनको सिलसिलामा देशव्यापी रुपमा योजनाबद्ध ढंगले दृश्य र अदृश्य धाँधलीका रुपहरु अपनाइएको, ठूलो मात्रामा आर्थिक चलखेलहरु भएको, मतपेटीकाहरु सार्ने क्रममा रहस्यमय हर्कतहरु भएको, सिल तोडिएका मतपेटीकाहरुलाई समेत स्वीकार्न पर्ने निर्देशन गरिएको, मतगणनाको क्रममा अस्वभाविक ढंगले राखिएका मतपत्रहरुको संख्या र स्वरुप फेला परेको आदि घटनाले यो निर्वाचन प्रक्रिया जनताको अभिमत र अपेक्षा विपरित धाँधलीपूर्ण र षड्यन्त्रमूलक रहेको स्पष्ट भएको छ । यो स्थितिमा हाम्रो पार्टी वर्तमान निर्वाचन प्रक्रियालाई स्थगन गरी समग्र प्रक्रियाको पुनरावलोकन र निष्पक्ष छानविन गरेर मात्र अगाडिको कदम निर्धारण गर्नुपर्ने निष्कर्षमा पुगेको छ । र गत राति देखिनै मतगणना प्रक्रियाबाट अलग भएको छ र यसबारे सम्बन्धित सबैलाई बेलैमा गम्भीर बन्न विशेष आग्रह गर्दछ । र जनताको पूर्ण मुक्तिको अधिकारभन्दा माथि कुनै पनि प्रक्रिया र पद्दती हुन नसक्ने कुराको स्मरण पनि गराउँदछ । साथै विगतमा भएका समझदारी र सहमति अनुसार शान्तिपूर्ण र लोकतान्त्रिक विधिद्वारा राज्यको अग्रगामी पुर्नसंरचना गर्न सबै राजनीतिक पक्षसँग वार्ता र सहकार्यको प्रक्रिया भने जारी नै रहने छ ।
मंसीर ६, २०७०
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
एकीकृत ने.क.पा.(माओवादी)
केन्द्रीय समिति

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us