झडपमा १५ भन्दा बढी घाइते

काठमाण्डु टुडे २०७० मंसिर ५ गते १७:२९ मा प्रकाशित

चन्द्रनिगाहपुर (रौतहट), ५ मङ्सिर– चुनाव सकिएको भोलिपल्ट बुधबार रौतहटको विभिन्न गाउँमा चुनावको विषयलाई लिएर झडप भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएका झडपमा १५ भन्दा बढी घाइते भएका छन् ।
रौतहटको शितलपर बैरगनिया, बरियारपुर र भलोहिया गाविसमा झडप भएको हो । शितलपुर बैरगनिया १ मा ननिपत हजरा, मुखदेव लोहार, दिनेश मुखिया, हरिप्रकाश यादवलगायत नौ जना घाइते भएका छन् । उनीहरुमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि वीरगन्ज लगिएको छ ।
यसैगरी बरियारपुर गाविसको मलाहीटोलमा नेकपा एमाले र एनेकपा माओवादीका कार्यकर्ताबीच बिहान झडप हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेमा अनुराग सहनी, बुधन सहनी, सुचिता देवीलगायत घाइते भएका छन् । उनीहरुलाई एमालेका कार्यकर्ताले कुटपिट गरेका बताइएको छ । उनीहरुको गौर अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै भलोहिया ४ मा नेपाली काँग्रेसका उम्मेदवार सन्तलाल साहलगायतका व्यक्तिहरुले आफन्तहरुले भोट नदिएको भन्दै कुटपिट गरेका छन् । कुटपिटबाट मुकुन्दकुमार साह, रवीन्द्रकुमार साह, धीरेन्द्रकुमार साह र धर्मेन्द्रकुमार साह घाइते भएका छन् । उनीहरुको गौर अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिट गर्नेहरुलाई इलाका प्रहरी कार्यालय गगापिपराले पक्राउ गरेपनि पछि छाडेको पीडित मुकुन्दका भाइ अरुण साहले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us