
काठमाण्डु, ५ मङ्सिर– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मुलुकमा शान्ति र स्थिरता कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र एवम् समावेशीलाई संस्थागत गर्ने उद्देश्यसहित मङ्सिर ४ गते संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सबैप्रति आभार व्यक्त गरेका छन ।
“अघिल्लो संविधानसभाले संविधान दिन नसकी राजनीतिक प्रक्रिया अबरुद्ध हुन पुगेको अवस्थामा गरिएको दोस्रो संविधानसभाको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो अमूल्य मत दिनु भएकामा सम्पूर्ण दिदीबहिनी, दाजुभाइ एवम् आम मतदातामा हार्दिक धन्यवाद ज्ञापन गर्दछु,” सभापति कोइरालाले भनेका छन । उनले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ‘निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो र यो निर्वाचनले मुलुकलाई राजनीतिक दिशा र गति दिनेछ भन्ने विश्वास लिएको छु ।’ सभापति कोइरालाले यस अवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गरेर यो अभियानलाई सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद व्यक्त गरेका छन ।
साथै निर्वाचन सम्पन्न गर्न सक्रियता साथ सहयोग पुरयाउने आफ्नो पार्टीसहित सम्पूर्ण दलका साथीहरु, पत्रकार, नागरिक समाज, अधिकारकर्मी, प्रबुद्ध वर्ग, अन्तर्राष्ट्रिय समुदाय, महिला, मधेसी, दलित, मुस्लिम, आदिवासी, जनजाति, विद्यार्थी, तरुण, युवा, अल्पसङ्ख्यक सबैप्रति काँग्रेसले आभार व्यक्त गरेको छ ।
निर्वाचनपछि गठन हुने संविधानसभाबाट मुलुकमा बहुलवादसहितको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श स्थापित गर्ने संविधान निर्माण गर्न र शान्ति, स्थायित्व कायम गर्दै राष्ट्र निर्माण, जनचाहना र आकाङ्क्षा पूरा गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बिज्ञप्तिमा उल्लेख छ ।