काँग्रेसलाई भोट नदिएको आरोपमा दलित बस्तीमा आगजनी

काठमाण्डु टुडे २०७० मंसिर ५ गते १७:११ मा प्रकाशित

वीरगन्ज(पर्सा), ५ मङ्सिर–पर्साको मुडली गाविसमा आफ्नो पार्टीलाई भोट नदिएको भन्दै एक समूहले दलित बस्तीमा प्रवेश गरी आगजनी गरेको छ ।
सो गाविसको वडा नं ३ मा रहेको माझीहरुको बस्तीमा प्रवेश गरी आतङ्क मच्चाइएको स्थानीयहरुले जानकारी दिएका छन् ।
नेपाली काँग्रेसलाई भोट नदिएको भन्दै सो बस्तीका स्थानीय बर्साती माझीको घरमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
सो समूहले माझीको घरमा आगजनी गरेको र आगजनीबाट उनको घर पूर्णरुपमा नष्ट भएको पनि पीडितले बताएका छन् ।
यसैबीच घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले रामकिशोर मुखिया बिनलाई पक्राउ गरेको छ । उनकै अगुवाइमा आफ्नो घरमा आगजनी भएको पीडित माझीले जानकारी दिएका छन् । काँग्रेसलाई भोट नदिएको भन्दै सो समूहले दलित बस्तीमा आक्रमण गरेको थियो । बुधबार नै इलाका प्रहरी कार्यालय पोखरियामा पीडित माझीले कार्वाहीको माग गरेका छन । सो गाउँ पर्साको क्षेत्र नम्बर–४ मा पर्दछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us