काठमाण्डु, ५ मंसिर– मतगणनाका क्रममा देशभर पार्टीका उम्मेदवार कमजोर देखिएका बेला एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आफ्नो पार्टीको जितलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
उनले भोलि साँझसम्म चुनावी नतिजा आउने भएकाले अनुमानको चंगा नउडाउन भनेका छन् । प्रारम्भिक अनुमानका आधारमा यथास्थितिवादी र प्रतिगामी शक्तिलाई नहौसन चुनौती दिएका छन् ।
‘चुनावको नतिजा भोलि साँझसम्म मूल रुपमा आउने हुनाले आजै अनुमानको चंगा उडाउनुको कुनै तुक छैन’, भट्टराईले भनेका छन्, ‘तर कतिपय शक्तिकेन्द्रहरुद्वारा प्रायोजित केही पूर्वानुमान हेर्दा र सुन्दा उनीहरु नेपालमा यथास्थितिवादका कट्टर पक्षधर र परिवर्तनका विरोधी भएको सहजै बुझ्न सकिन्छ ।’
भट्टराईले जनताको मतअनुसार एमाओवादीलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । ‘जनताको मतले नै चुनाव जित्ने हो भने यसपटक एमाओवादीको जितलाई कसैले रोक्न सक्नेछैन’, उनले भनेका छन्, तर अरु नै तत्व निर्णयक हुने भए तत्काल यो पूर्वानुमानको जिम्मा श्री पशुपतिनाथलाई नै सुम्पदा होला कि ?’
भट्टराईले गोरखामा यसपटक पनि एमाओवादीको वर्चस्व कायमै रहने देखेपछि आत्तिएका कांग्रेस–एमालेले आफ्नो लज्जाजनक हारको लाज छोप्न हत्तपत्त हुँदै नभएको धाँधलीको आरोप लगाएर चुनाव बिथोल्ने वा त्यो नसके एमाओवादीको शानदार जितलाई न्यूनीकरण गर्ने झिंगे दाउ हानेको आरोप लगाएका छन् ।
त्यसलाई कर्पोरेट मिडियाले एकतर्फी रुपमा उचालेर प्रचार गर्नु अनौठो बिडम्वना भएको भनाइ उनको छ ।