मतदाता उपत्यका भित्रिन थाले

काठमाण्डु टुडे २०७० मंसिर ५ गते ४:५२ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर–संविधानसभा निर्वाचनमा मतदानका लागि आफ्नो मतदानस्थलमा पुगेका मतदाताहरू बुधबारदेखि आ–आफ्नो कार्यस्थलतर्फ फर्कन थालेका छन् । कामविशेषले काठमाण्डु उपत्यकामा रहेका मतदाता निर्वाचनका लागि सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा पुगेर मतदान गरी कार्यस्थल फर्केका हुन् । निर्वाचन विरोधी मोर्चाले आयोजना गरेको बन्दको परवाह नगरी मतदानका लागि गाउँसम्म गएका मतदाताहरू धमाधम उपत्यका भित्रिने क्रम सुरु भएको छ ।

केही दिनको बन्द र निर्वाचनका क्रममा सुनसानजस्तै बनेको उपत्यकामा बन्द खुलेपछि बुधबार बिहानैदेखि चहलपहल बढेको छ । उपत्यकासहित देशभरका सबै उद्योग, कलकारखाना तथा बजार सञ्चालन भएका छन् । देशभरका लामो तथा छोटो दूरीका सवारी साधन निर्बाध रूपमा चलिरहेका छन् भने अन्य दैनिक उपभोग्य वस्तुको ढुवानी पनि नियमित रूपमा नै भइरहेको छ । महानगरीय ट्राफिक महाशाखाका प्रहरीनायब महानिरीक्षक केशवप्रसाद अधिकारीले उपत्यकासहित देशभर सवारीसाधन निर्बाध रूपमा सञ्चालन भइरहेको जानकारी दिए ।

मतदानका लागि उपत्यकाबाहिर गएका यात्रु सम्बन्धित जिल्लाबाट फर्कने लर्को लागेको र सवारीसाधनको संख्या पनि बढेको उनले बताए । उपत्यकाका विभिन्न नाकाबाट अत्यावश्यक उपभोग्य वस्तु तथा यात्रु बोकेका सवारीसाधनहरू भित्रिने र बाहिरिने क्रम बढेको सम्बन्धित व्यवसायीहरूले बताएका छन् ।

यातायात व्यवसायी महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाले मुलुकभरका सबै लामो तथा छोटो दूरीका सवारीसाधनहरू सञ्चालन भइरहेको बताए । उनका अनुसार विभिन्न चरणमा धेरै मतदाता उपत्यका बाहिरका भएकाले उपत्यकाबाट बाहिरिने भन्दा उपत्यका भित्रने सवारीको चाप रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us