अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सूचना डेस्क

काठमाण्डु टुडे २०७० मंसिर ५ गते ४:४८ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर–निर्वाचन अधिकृतको कार्यालय काठमाण्डुले मतगणनालाई विवादरहित तवरबाट सुचारु रुपले सञ्चालन गर्न उम्मेदवार तथा राजनीतिक दलका मतगणना प्रतिनिधिसँग छलफल गरी २७ बुँदे सहमति कायम गरेको छ । काठमाण्डु जिल्लाका १० वटै निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार र तिनका प्रतिनिधिलाई राखेर काठमाण्डुका प्रमुख निर्वाचन अधिकृत अच्युतराज विष्टले सो सहमति कायम गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय नयाँबानेश्वर परिसरमा बसेको सो बैठकमा भएको सहमतिअनुसार पहिले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतका मतपत्रको गणनापछि मात्र सम्बन्धित क्षेत्रको समानुपातिकतर्फको मतगणना प्रारम्भ गरिनेछ ।

काठमाण्डु जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको उपस्थितिमा भएको सो छलफलमा निर्वाचन मतगणना पर्यवेक्षक र सञ्चारकर्मीहरूलाई समेत व्यवस्थित तथा सहज रूपमा सूचना प्रवाह गर्न मतगणनास्थलबाहिर सूचना डेस्कको व्यवस्था गर्ने सहमति भएको छ ।

काठमाण्डुका दसैवटा निर्वाचन क्षेत्रको मतगणना अहिले केही बेरमा सुरु हुँदैछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us