सुर्खेतमा मतगणना शुरु हुदै

काठमाण्डु टुडे २०७० मंसिर ५ गते ३:०८ मा प्रकाशित

वीरेन्द्रनगर, ५ मंसिर–मंगलबार सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनको मतगणना सुर्खेतमा बुधबार विहानदेखि सुरु हुने भएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रको मतपेटिका सदरमुकाम वीरेन्द्रनगर ल्याइसकेपछि मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी तिलक रिजालले जानकारी दिए ।

निर्वाचन अधिकारी रिजालका अनुसार क्षेत्र नं. २ का करिब सबै मतदान केन्द्रका मतपेटिका मंगलबार राति नै वीरेन्द्रनगर ल्याइसकिएको छ । क्षेत्र नं. १ र ३ का मतपेटिका पनि मङ्गलबार स्थानीय प्रहरी चौकीमा सुरक्षाका साथ राखिएको र बुधबार सदरमुकाममा ल्याइसक्ने उनको भनाइ छ ।

यसपटक सुर्खेतमा ७५ प्रतिशत मत खसेको छ । यो अघिल्लो निर्वाचनको भन्दा १० प्रतिशत बढी हो । सुर्खेतमा तीनवटा निर्वाचन क्षेत्रमा पाँच महिला, तीन स्वतन्त्र गरी ४७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । सुर्खेतमा यसपटक एक लाख ५४ हजार ८०९ मतदाता रहेका थिए । जसमध्ये महिला मतदाताको सङ्ख्या पुरुषको भन्दा आठ हजार ४२९ ले बढी हो भने एकजना मात्रै समलिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयको भनाइ छ ।

रसुवाका ४१ केन्द्रका मतपेटिका सदरमुकाममा

हिजो सम्पन्न संविधानसभा निर्वाचनअन्तर्गत रसुवाका ४१ मतदान केन्द्रका मतपेटिका बुधबार बिहान ४ बजेसम्म सदरमुकाम ल्याइएको छ । मुख्य निर्वाचन अधिकृत राजु खतिवडाका अनुसार जिल्लाका १८ गाविसमा रहेका ४२ मतदान केन्द्रमध्ये ४१ स्थानको मतपेटिका सदरमुकाम ल्याउने कार्य सम्पन्न भएको र लामटाङ मतदान केन्द्रको मतपेटिका बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट धुन्चे ल्याउने तयारी भइरहेको छ ।

जिल्लाका सबै क्षेत्रमा शान्ति र भयरहित वातावरणमा मतदान कार्य सम्पन्न भएको र २३ हजार ५३३ मतदातामध्ये करिब ७८ प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी शोभाकर पौडेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us