यस्ता भए निर्वाचनका क्रममा सम्झन लायक घटना

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १६:१० मा प्रकाशित

११ किरियापुत्रीबाट मतदान
पर्वत–शंकरपोखरी गाविसमा सञ्चालित मतदान केन्द्रमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् ।
पर्वत– २ को त्रिभुवन उच्च मावि शंकरपोखरी केन्द्रबाट किरियापुत्री शिवप्रसाद भूषालले मतदान गरेका हुन् । भुषाल बाबुको किरियामा रहेकै अवस्थामा मतदान गरेको केन्द्रका मतदान अधिकृत झलक आचार्यले जानकारी दिए ।
धनकुटा– त्रिवेणी उच्चमावि केन्द्रबाट दुई क्रियापुत्रीले संविधानसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
धनकुटा नगरपालिका–७ मा रहेको केन्द्रबाट किरियामा रहेका अमित घिमिरे र समीर घिमिरेले मतदान गरेका हुन् । घिमिरे दाजुभाइले    आफूले रोजेको प्रतिनिधि चुनेर पठाउन आफ्नो सहभागिता थप महत्वपूर्ण भएको बताए ।
झापा–झापा–१ बाट ६ किरियापुत्रीले मतदान गरेका का छन् । मेची नगरपालिका–१ को कृषि विकास बैंक धुलाबारीे मतदान केन्द्रबाट किरियापुत्री विनोद श्रेष्ठ, धुलाबारी मावि मतदान केन्द्रबाट, रमेशकुमार साह तथा रतेन्द्र श्रेष्ठ, सन्तोष श्रेष्ठ र चन्द्र श्रेष्ठले मतदान गरेका हुन् ।

रुकुम–पुतिर्मकाँडा–५ मा किरियायापूत्री टेकबहादुर महताराले मतदान गरे । उनकी आमाको ४ दिनअघि मृत्यु भएको थियो ।

अरुको नाउँमा भोट खसाल्ने पक्राउ
गौशाला, ४ मंसिर– महोत्तरी–४ अन्तर्गत बथनाहा गाविसको भैगुलो जनता माध्यमिक विद्यालय मतदान ‘क’ केन्द्रमा अरुको नाउँमा भोट खसाल्न खोज्ने चार महिलालाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।
बथनाहा–१ घर भएका परिचयपत्र नम्बर २ सय ५३ का ममता कुमारी झा, परिचयपत्र नम्बर ८७ का गम्भीरा झा, परिचयपत्र नम्बर २ सय ७३ का मीरादेवी झा र परिचयपत्र नम्बर २ सय ५० का लिलम झाको नाउँमा भोट खसाल्न आएका चारजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन् । उनीहरुलाई मतदान सहयोगीका रुपमा खटिएका दलका प्रतिनिधिले परिचयपत्र र अनुहार मिलाउँदा फरक देखिएपछि मतदान गर्नबाट रोकेका थिए ।

१० घण्टाकी सुत्केरीबाट मतदान
पर्वत– पर्वतको लिमिठाना गाविसमा सुत्केरी भएको १० घण्टामा एक महिलाले मताधिकार प्रयोग गरेकी छन् । लिमिठाना मावि मतदान केन्द्र ‘ख’ बाट लिमिठाना–७ की सुत्केरी पवित्रा रेग्मीले मतदान गरेकी हुन् । रेग्मीले एम्बुलेन्समा मतदान केन्द्रमा आएर मतदान गरेको सहायक मतदान अधिकृत रामकृष्ण अर्यालले जानकारी दिए ।

११ राउण्ड हवाई फायर

बनेपा– काभ्रेको पोखरीचौरी गाविसको चौरी मतदान केन्द्रमा काँगेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका उपरीक्षक अरुण पीसीका अनुसार मतपेटिका फालिएपछि दुई दलका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ११ राउन्ड हवाई फायर गरेको थियो ।

पर्वत–पर्वतको शंखरपोखरीस्थित महादेव प्रावि नुवार मतदान केन्द्रमा तीन राउन्ड हवाई फायर भएको छ ।
फर्जी मतदानको प्रयास भएपछि एनेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर गरेको हो ।  स्थिति तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिएर मतदान सुचारु गर्ने प्रयासस्वरुप हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
त्यसअघि ठूलीपोखरी गाविसस्थित जनता सुदर्शन उच्चमावि मतदान केन्द्रमा तीन राउन्ड हवाई फायर भएको थियो ।  गोली लागी ठूलीपोखरी–८ का प्रेम लामिछाने र रवण लामिछाने घाइते भएका छन् ।

महिलाबाट पहिलोपटक मतदान
महोत्तरी– निर्वाचनकै इतिहासमा यसअघि कुनै निर्वाचनमा मत नखसालेका महोत्तरी गैंढाभेटपुरको एक मतदान केन्द्रमा संविधानसभा निर्वाचन २०७० मा ५० प्रतिशतभन्दा बढी महिलाले मत खसालेका छन् ।
गैंढाभेटपुर गाविसको वडा नम्बर ३ र ४ मा रहेको सारा प्रावि मतदान केन्द्रमा जम्मा ४ सय ३५ मतदाता रहेकामा १ सय ८५ महिलाले आफ्नो जीवनमै निर्वाचनमा पहिलो पटक सहभागिता जनाएको मतदान अधिकृत जगदीश ठाकुरले बताए ।

त्यस केन्द्रबाट १ सय ४७ जना पुरुषले मात्रै मतदान गरेको अधिकृत ठाकुरले बताए । यसअघि कुनै पनि निर्वाचनमा महिलाले मतदान नगर्ने मतदान केन्द्रको रुपमा परिचित गैंढाभेटपुर गाविसको वडा नम्बर ३ र ४ को सारा प्रावि मतदान केन्द्र ख मा पर्ने यस मतदान केन्द्रमा पुरुषहरुभन्दा बढी सङ्ख्यामा महिलाले सहभागिता जनाएर इतिहास रचेका छन् ।

मतदानपछि मृत्यु

वीरगन्ज– मतदानका क्रममा पर्सा–१ को वीरगन्ज उपमहानगरपालिका श्रीपुरस्थित नेसनल ट्रेडिङ लिमिटेड मतदान केन्द्रमा मतदानमा सहभागी भएलगत्तै एक वृद्धको ज्यान गएको छ । मंगलबार बिहान करिब ८ बजे मतदान गरेर बाहिर आएपछि अचानक बेहोस भएर लडेका ७३ वर्षीय गौरीशङ्कर मानन्धरको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दोलखा– दोलखा १–को जिरी उच्च मावि जिरी मतदान केन्द्रमा मतदान गरी फर्कने क्रममा जिरी गाविस–८ की एक महिलाको मृत्यु भएको छ । मतदान गरेलगत्तै ६७ वर्षीया डोल्मा जिरेलको बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पत्रकार महासंघका अध्यक्ष अपहृत
रोल्पा– नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मौसम रोकालाई नेकपा–माओवादीका कार्यकर्ताले अपहरण गरेका छन् ।
रोल्पा थवाङ निवासी रोका मतदान गर्न गाउँ गएका बेला अपहरणमा परेका हुन् । उनी रेडियो लजजलाका स्टेशन म्यानेजर हुन् । वैद्य माओवादीले थवाङलाई शून्य भोट बनाउने रणनीति विफल पार्ने योजनासहित रोका मतदान गर्न आएकाले नियन्त्रणमा लिइएको बताएको छ । दिनभर नियन्त्रणमा लिएर वैद्य माओवादी कार्यकर्ताले रोकालाई मंगलबार साँझ मुक्त गरेका छन् ।

मतपत्र फोरिएपछि गोली चल्यो
दैलेख–चामुण्डा गाविसस्थित चामुण्डा हाडा उच्चमावि मतदान केन्द्र ‘क’ मा गोली चलेको छ ।
बिहान करिब ८ बजे ४५ मत खसेपछि निर्वाचन बहिस्कार घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा –माओवादीका कार्यकर्ताले मतपेटिका फोरेपछि प्रहरीले गोली चलाएको हो । सात सय ९६ मतदाता रहेको सो मतदान केन्द्र सदरमुकामबाट ९ कोस टाढा छ ।

थवाङमा नो भोट
रोल्पा–रोल्पाको थवाङमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताको धम्कीका कारण मतदाता मतदानमा सहभागी भएनन् । कर्मचारी र सुक्षाकर्मीले मंगलबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भोट हाल्न मतपेटिका राखे पनि कोही मतदान गर्न आएनन् ।

थवाङमा एक हजार ८ सय ७८ जनाले फोटोसहितको मतदाता सूचीमा नामा लेखाएका थिए । जसमध्ये करिब ५० मतदाताले मात्र मतदाता परिचयपत्र लगेका थिए । थवाङको बलभद्र उमाविमा तीनवटा मत केन्द्र राखिएको थियो । कर्मचारी र सुरक्षाकर्मीले मात्र समानुपातिकमा भोट दिएपछि थवाङमा ३७ मत खसेको छ ।

सकेट बमसहित ४ पक्राउ
दाङ– प्रहरीले सोनपुर गाविस– ४ को श्रीगाउँबाट चार जनालाई सकेट बमसहित प्रहरीले पक्राउ गरेकोे छ ।

पर्नेमा सोही गाविसका प्रेमलाल चौधरी, सागर चौधरी, सन्दीप चौधरी र रामप्रसाद चौधरी छन् । पक्राउ परेका सबै नेकपा–माओवादीका कार्यकर्ता रहेको बताइएको छ ।

राष्ट्रपतिले गरेनन् मतदान
काठमाण्डु– राष्ट्रपति रामवरण यादवले संविधानसभा निर्वाचनमा मतदान गरेनन् । आफू सबैको साझा भएकाले पक्ष वा विपक्षमा मतदान नगरेको उनले बताएका छन् । गत संविधानसभा निर्वाचनमा यादव काँग्रेस उम्मेदवारका रुपमा धनुषा–५ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । मतदानमा सहभागी नभएका उनी महाराजगन्जस्थित कान्ति मिलन मतदान केन्द्र गई मतदानकार्यको अवलोकन गरे । शीतलनिवास अगाडि रहेको सो मतदान केन्द्रमा उनी केही सहयोगी र सुरक्षाकर्मीका साथ पैदलै अवलोकनका लागि गएका थिए ।

बम विष्फोटमा बालक घाइते

काठमाण्डु– काठमाण्डुको भोटेबहालमा अज्ञात समूहले राखेको बम विस्फोट हुँदा एक बालक घाइते भएका छन् ।
टेकु र भोटेबहालबीचको सडकखण्डमा राखिएको बम खेलाउँदा आठ वर्षीय समीर खड्गी घाइते भएका हुन् ।
सडकमा राखिएको विस्फोटक पदार्थ बालकले खेलौना ठानेर खेलाउँदा पड्किएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसीले बताए । घाइते बालकको वीरअस्पतालमा उपचार भइरहेको छ ।

एमाओवादीले बुथ कब्जा गरेको आरोप

गोरखा– एकीकृत माओवादीले बुथ कब्जा गरी  धाँधधी गरेको आरोप काँग्रेस र एमालेले लगाएका छन् । उनीहरुले गोरखाका तीन वटै निर्वाचन क्षेत्रका विभिन्न केन्द्रको मतदान प्रक्रिया रद्द गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

कांग्रेसले क्षेत्र नम्बर–१ का १४ र २ का ६ केन्द्र तथा एमालेले क्षेत्र नम्बर–१ का १५ र  २ तथा ३ को तीन मतदान केन्द्रको चुनाव रद्ध गर्न माग गरेको छ । एमाओवादी र निर्वाचन कार्यालयले भने निष्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् । गोरखा–१ मा एकीकृत माओवादी नेता बाबुराम भट्टराई तथा २ मा केन्द्रीय कार्यालय सचिव हितराज पाण्डे उम्मेदवार छन् ।

पैसा बाँड्न खोज्दा कुटाई
पर्सा–४ को कौवा वनकटैया गाविसको नेपाल राष्ट्रिय नम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा भएको झडपमा काँग्रेस कार्यकर्ता जवाहिर पटेल गम्भीर घाइते भएका छन् । लाइनमा बसेका मतदातालाई काँग्रेस कार्यकर्ताले पैसा बाँड्न खोजेपछि झडप भएको थियो । एमाले र फोरम नेपालका कार्यकर्ताको कुटाइबाट पटेल घाइते भएको बताइएको छ ।

अमरेशले गरे बुथ कब्जा
सर्लाही– सर्लाही–६ का कांग्रेस उम्मेदवार अमरेशकुमार सिंहले बुथ क्याप्चर गरेको गरेको आरोप अरु दलले लगाएका छन् । सिंहका समर्थकले रिजविया मुस्लिम मदरसा मतदान केन्द्र र जब्दीमा मतदान सुरु हुनासाथ मतदातालाई मतदान केन्द्र प्रवेशमा रोक लगाएर मत हालेको आरोप विपक्षीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us