सय नाघेका वृद्धवृद्धाले भोट हालेपछि भनेः यसपालि भोट खेर नजाओस्

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १४:२५ मा प्रकाशित

jhapa briddaकाठमाण्डु, ४ मंसिर– मंगलबार सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनका क्रममा वृद्धवृद्धाहरुको पनि उत्साहजनक सहभागिता देखियो ।
धनुषा
धनुषा–३ को राष्ट्रिय प्राथमिक विद्यालय जटही मतदान केन्द्र क र ख बाट १ सय १० र १ सय १२ वर्षका वृद्धवृद्धाले मतदान गरेका छन् ।
जटही–५ का १ सय १२ वर्षीय माथवर यादव र १ सय १० वर्षकी मनोदेवी यादव मतदानमा सहभागी भएको मतदान अधिकृत अङ्केश्वर यादवले जानकारी दिए । आफन्तको सहयोगमा मतदान गरेपछि उनीहरुले यसपटक आफूले दिएको मत खेर नजाने विश्वास व्यक्त गरे । गत संविधानसभाबाट संविधान बन्न नसकेकामा दुःख लागेको र यसपटक संविधान बन्नेमा ढुक्क रहेको उनीहरुको भनाइ थियो ।
झापा
झापा–६ को पृथ्वीनारायण प्रावि मतदान केन्द्रबाट १ सय ७ वर्षीया गंगादेवी उप्रेतीले मतदान गरिन् । यस्तै १ सय १ वर्षीय हरिप्रसाद वाग्लेले बुधबारेस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । झापा धर्मपुर बस्ने १ सय १ वर्षीय लीलाबल्लभ गजुरेलले क्षेत्र नम्बर–७ को लक्ष्मीनारायण उच्च मावि मतदान केन्द्रबाट, चन्द्रगढीका १ सय वर्षीय लीलाकान्त घिमिरेले झापा–२ को कलवलगुडी ‘ख’ मतदान केन्द्रबाट मतदान गरे । यस्तै संविधानसभा सदस्य निर्वाचनमा कञचनपुर–१ अन्तर्गत बेलडाँगी गाविस–१ स्थित सरस्वती मावि मतदान केन्द्र ‘क’ मा १ सय ७ वर्षीय बिर्खबहादुर बस्नेतले मतदान गरे ।
बाँके
बाँके ४ अन्तर्गत सीतापुर–५ गौघाटका १ सय १२ वर्Èीय प्रताप विष्ट र उनकी पत्नी मोतीले नेपाल राष्ट्रिय प्रथमिक विद्यालय गुराँसपुर मतदान केन्द्रमा मतदान गरे । छोरा रामबहादुरको सहयोगमा साइकलमा मतदान केन्द्रसम्म पुगेर दुवै जनाले मतदान गरेका हुन् ।
मोरङ
मोरङ–१ मा १ सय ९ वर्षीय बोधनलाल गन्गाईले डोरिया प्रावि झुर्किया केन्द्रबाट मत दान गरे ।
गुल्मी
गुल्मी–१ मा रहेको खड्गकोट मतदान केन्द्रमा १ सय वर्षीया जमुना ढकालले आफन्तको सहारामा मतदान गरिन् ।
कपिलवस्तु
कपिलवस्तु वाणगङ्गा जनता उमावि केन्द्रमा १ सय १० वर्षीय नमाराम घिमिरेले मतदान गरे ।
हुम्ला
हुम्लाको मदना गाविस गल्लावाडा घट्टेखोला मतदान केन्द्रमा १ सय २ वर्षकी जीरा ढकालले नातीको सहयोगमा मतदान गरिन् ।
दार्चुला
दार्चुलाको भूमिराज मावि इयरकोट केन्द्रमा १ सय १० वर्षीया मैनादेवी महतोले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
नुवाकोट
नुवाकोट–३ को चारघरेमा चारघरे–४ की एक सय २ वर्षीया मद्यमकुमारी भट्टले मतदान गरेकी छन् । भट्टले तीनधारे पिपलडाँडा मावि केन्द्रमा नाती बद्रीप्रसाद भट्टको सहयोगमा मतदान गरेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us