पपुवा न्यूगिनीसँग नेपालको ७ विकेटको जित

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १४:१२ मा प्रकाशित

nepali-cricket-players-in-dubaiकाठमाण्डु, ४ मंसिर । युएईमा जारी आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र पपुवा न्यू गिनी (पिएनजी) बीचको मंगलबारको खेलमा नेपालले पिएनजीलाई ७ विकेटले पराजित गरेको छ ।

युएईको शारजाहँ क्रिकेट रंगशालामा खेलिएको सो खेलमा पिएनजीले दिएको १४१ रनको विजयी लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर प्राप्त गरेको थियो । मंगलबारको खेलमा नेपाली खेलाडीहरु विनोद भण्डारीले २३ बलमा आक्रामक ५१ रन तथा कप्तान पारस खड्काले १९ बलमा २६ रन बनाएका थिए ।

उनीहरु दुवै अन्त्यसम्म आउट भएनन् । विनोदले आक्रामक ६ छक्का र एक चौका हिर्काएका थिए भने पारसले एक छक्का र एक चौका हानेका थिए । साथै, सुवास खकुरेलले ३८, सागर पुनले १० र ज्ञानेन्द्र मल्लले १० रन बनाएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पिएनजीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । पिएनजीका लागि बेलायतका तर्फबाट टेस्ट र एकदिवसीय खेल खेलिसकेका चर्चित विकेटकिपर ग्यारेथ जोन्सले सबैभन्दा बढी ५५ रन बनाएका थिए । नेपाली बलरमध्ये कप्तान पारस खड्काले ३, अमृत भट्टराईले २ र जितेन्द्र मुखियाले एक विकेट लिएका थिए ।

समूह बि मा रहेको नेपालले ४ खेलबाट ६ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा छ । यस समूहमा समान ६ अङ्क रहेको नेदरल्यान्ड्स रनरेटका कारण समूहमा पहिलो स्थानमा रहेको छ । समूह बि मा नेपालसहित पिएनजी, केन्या, बर्मुडा, नेदरल्यान्ड्स, अफगानिस्तान, स्कटल्यान्ड र डेनमार्क रहेका छन् । नेपालले यसअघि केन्या र डेनमार्कलाई पराजित गरेको थियो भने स्कटल्यान्डसँग पराजित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us