संविधानसभा निर्वाचनमा खसेको मत इतिहासमै सर्वाधिक

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १३:३८ मा प्रकाशित

nilkantha upretiकाठमाण्डु– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मंगलबार सम्पन्न संविधानसभा निर्वाचनमा इतिहासमै सर्वाधिक मत खसेको बताएका छन् । उनले यसपटकको निर्वाचनमा कम्तिमा ७० प्रतिशत मत खसेको पूर्वानुमान आयोगले गरेको बताए ।

उप्रेतीले देशैभरी शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा सबै पक्षलाई बधाई दिँदै मत खसेको प्रतिशत अझ बढ्न सक्ने बताएका छन् । निर्वाचन सम्पन्न भएपछि मंगलबार साँझ आयोग मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त उप्रेतीले निर्वाचन भव्यताका साथ सम्पन्न भएको सुनाए ।

अघिल्लो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६१.७ प्रतिशत र समानुपातिकमा ६३.३ प्रतिशत मत खसेको थियो । त्यस्तै २०४८ सालको आम निर्वाचनमा ६८.१५ प्रतिशत, २०५१ मा मध्यावधि निर्वाचनमा ६१.६८ प्रतिशत र २०५६ को आम निर्वाचनमा ६५.६९ प्रतिशत मत खसेको थियो ।

खुशीको क्षण

‘म यहाँ खुशीको क्षण साट्न आएको हुँ, निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा मतदाता, दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी लगायत सबैलाई धन्यवाद तथा बधाई दिन चाहन्छु’ , उनले भने, ‘आजको निर्वाचन अत्यधिक सफल भएको छ । इतिहासमै सर्वाधिक मत खसेको छ ।’

इतिहासमै रेकर्ड
उनले यस सफल निर्वाचनलाई इतिहासले रेकर्ड राख्ने उल्लेख गर्दै इतिहासले यस महत्वपूर्ण कार्यलाई नभुल्ने बताए । सबैभन्दा बढी मत डोल्पा रोल्पा र गोरखामा ८० प्रतिशतभन्दा बढी खसेको बताउँदै सबैभन्दा कम खसेको जिल्लामा पनि ६५प्रतिशत मत खसेको बताए । प्रविधिको उच्च प्रयोग र फोटोसहितको परिचयपत्रका कारण यो पनि धेरै मत खसाल्न सघाउ पुगेको उनको भनाइ थियो ।

लोकतन्त्रमा उदाहरण

नेपालको यस निर्वाचनले अन्य मुलुकले पनि पाठ सिकेको बताउँदै उनले भने, ‘लोकतन्त्रको अभ्यासमा हाम्रो निर्वाचन उदाहरण बनेको छ ।’

लोकतन्त्रको अभ्यासमा निर्वाचनमा सहभागी मतदाता संख्याको निकै महत्व हुने भन्दै उनले स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्नका लागि नेपालको मतदाताका उत्साह विश्वले हेर्ने उप्रेतीले दाबी गरे । यस परिणामले लोकतन्त्रको संस्थागत विकास गर्ने विश्वस समेत उनले व्यक्त गरे ।

रोल्पाको दुर्भाग्य

निर्वाचनका समयमा छिटफुट घटना हुनु स्वाभाविक भएको भन्दै प्रमुख आयुक्तले निर्वाचन नै बिथोल्नेगरी कुनै पनि घटना नभएको स्पष्ट पारेका छन् । जुम्लाको बेला गाविसस्थित डालपाल केन्द्रमा स्थगित भएको मतदानलाई अर्को निर्णयबाट समपन्न गर्ने उनले जनाए ।

रोल्पाको थवाङ र जेलबाङमा मतदान नहुनु रोल्पाको दुर्भाग्य भएको उनले औंल्याए । उनले भने, ‘लोकतान्त्रिक पद्धती निर्वाचनलाई नै बहिष्कार गर्नु रोल्पा र रोल्पाका जनताको दुर्भाग्य हो ।

सस्तो निर्वाचन

निर्वाचनका लागि ७ अर्ब ७५ करोड रकम छुट्याइएकोमा सबै खर्च नहुने उप्रेतीले सञ्चारकर्मीलाई बताए । उनले यस निर्वाचन परिणाम आउँदासम्म ५ अर्ब भन्दा बढी खर्च नहुने उल्लेख गरे । ‘महंगीको हिसाबले अघिल्लो निर्वाचन भन्दा यो निर्वाचन निकै सस्तोमा सम्पन्न हुँदैछ’, उनले भने ।

बुधबारदेखि परिणाम

मंगलबार मतपेटिका सदरमुकाम र गणनास्थल ल्याइ पुर्‍याउने जानकारी गर्दै बुधबार साँझसम्म मत परिणाम आउन थाल्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । ७ देखि १० दिनसम्म प्रत्यक्षतर्फका सबै क्षेत्रका मत परिणाम आउने उप्रेतीले भन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us