दबाएर गरिएको निर्वाचनबाट बन्ने संविधानसभा काम छैन: वैद्य मोर्चा

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १३:१० मा प्रकाशित

mohan-baidyaकाठमाण्डु, ४ मंसिर–मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले सरकार र दलहरुले बल प्रयोग गरी गरिएको संविधानसभा निर्वाचनले कुनै निकास दिन नसक्ने दाबी गरेको छ ।
मोर्चाका तर्फबाट नेकपा–माओवादी सचिव देव गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा शक्ति दुरुपयोग गरी भएको निर्वाचनले जनताको संविधान नबन्ने र जारी संकटसमेत पार नलाग्ने उल्लेख छ । विज्ञप्तिमा दलहरुबीच राष्ट्रिय सहमतिको विकल्प नरहेको औंल्याइएको छ ।

‘राजनीतिक शक्तिहरुको बीचमा संवाद र राष्ट्रिय सहमति कायम गर्न सरकार, राजनीतिक दलहरु र नागरिक समाजसँग हादिर्क आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

मोर्चाले निर्वाचन बहिस्कारका लागि आह्वान गरिएको आमहड्ताल सफल भएको दाबीसमेत गरेको छ । ‘४ दलीय सिण्डिकेटको निषेधात्मक राजनीति र राज्यशक्तिको दुरुपयोग गर्दै निरङकुश ढंगले गरिएको दमनका बावजुद पनि चक्काजाम र बहिष्कार आन्दोलन सफलतापूर्वक सम्पन्न भएको छ’,  विज्ञप्तिमा भनिएको छ, ‘त्यसको लागि चक्काजाम तथा बहिष्कार आन्दोलनमा सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय जनसमुदायमा ३३ दलीय राजनीतिक मोर्चा हादिर्क धन्यवाद ज्ञापन गर्दछ ।’

मोर्चाले देशभरबाट पक्राउ परेका मोर्चा सम्वद्ध ५ सयभन्दा नेता, कार्यकर्ता र समर्थकहरुलाई निशर्त रिहा गर्न पनि माग गरेको छ ।

(विज्ञप्तिको पूर्ण पाठ)
राष्ट्रिय सहमति कायम गरेर मात्र निर्वाचन सम्पन्न गरियोस् भनी सरकार र ४ दलका शीर्ष नेताहरुको ध्यानाकृष्ट गराउनका लागि यथास्थितिको राष्ट्रघाती निर्वाचनको बहिष्कार तथा गत कार्तिक २६ गतेदेखि आज बेलुकी ५:०० बजेसम्म अत्यावश्यक वस्तु र सेवाको वाहन बाहेकको चक्काजाम कार्यक्रम सञ्चालन गरिएको यथार्थता सर्वविदितै छ ।

४ दलीय सिण्डिकेटको निषेधात्मक राजनीति र राज्यशक्तिको दुरुपयोग गर्दै निरङ्कुश ढङ्गले गरिएको दमनका बावजुद पनिचक्काजाम र बहिष्कार आन्दोलन सफलतापूर्वकसम्पन्न भएको छ । त्यसको लागि चक्काजाम तथा बहिष्कार आन्दोलनमा सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय जनसमुदायमा ३३ दलीय राजनीतिक मोर्चा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
चक्काजाम र बहिष्कार आन्दोलनको क्रममा राज्यको सम्पूर्ण शक्ति दुरुपयोग गरेर दमन, धरपकड र आतङ्क सिर्जना गरियो । देशभर ५०० जनाभन्दा बढी नेकपा–माओवादी सहित ३३ दल सम्बद्ध नेता, कार्यकर्ता र समर्थकहरुलाई गिरफ्तार गरी झुट्ठा मुद्दा लगाइएको छ ।

सरकारको यस दमनकारी नीतिको विरोध एवम् भत्र्सना गर्दै गिरफ्तार गरिएका सम्पूर्ण साथीहरुलाई बिनाशर्त अविलम्ब रिहाई गर्न हामी जोडदार माग गर्दछौं ।
चक्काजाम र बहिष्कार आन्दोलनको विरुद्धमा राज्यद्वारा निरङ्कुश ढङ्गले गरिएको बल प्रयोगकाकारणले कतिपय स्थानहरुमा अनपेक्षित दु:खद घटनाहरु पनि घटेको देखिन्छ ।

त्यसबाट भएको क्षति र जनसमुदायमा पर्न गएको पीडाका सन्दर्भमा हामी दु:ख व्यक्त गर्न चाहन्छौं । अन्त्यमा, राज्यको सम्पूर्ण शक्तिको दुरुपयोग गरेर निर्वाचन गरिएको भए तापनि त्यसबाट जनताको संविधान नबन्ने मात्र होइन, वर्तमान सङ्कटको राजनीतिक निकास दिन नसक्ने यथार्थता स्पष्ट छ । राजनीतिक निकासको लागिजुनसुकै परिस्थितिमा पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद रराष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन ।

त्यसैले फेरि पनि सबै राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय सहमति कायम गर्न सरकार, राजनीतिक दलहरु र नागरिक समाजसाग हार्दिक आग्रह गर्दछौं ।
मिति : २०७० मंसिर ४
(देव गुरुङ)
३३ दलीय राजनीतिक मोर्चा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us