
काठमाण्डु, ४ मंसिर– एकीकृत माओवादी अध्यक्ष प्रचण्डले दोस्रो संविधानसभा निर्वाचन शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएकामा आम नेपालीलाई बधाई दिएका छन् ।
मतदानकार्य सकिएलगत्तै मंगलबार एक सन्देश जारी गर्दै उनले नेपाली जनताले निर्वाचनमा विवेकपूर्ण प्रदर्शन गरेकामा प्रसन्नता व्यक्त गरेका हुन् । ‘संविधानसभाको निर्वाचन–२०७० छिटफुट सामान्य घटनाबाहेक जनताको व्यापक र उत्साहपूर्ण सहभागितासहित शान्तिपूर्ण रुपले सफल भएको छ’, सन्देशमा उनले अगाडि भनेका छन्, ‘नेपाली जनताको सामूहिक विवेकको प्रदर्शनका रुपमा प्राप्त भएको यो ऐतिहासिक सफलताका लागि म आम नेपाली दिदीबहिनी, दाजुभाईहरुप्रति हार्दिक बधाई ज्ञापन गर्दछु ।’
प्रचण्डले चूनौतीका बीच निर्वाचन सफल पार्न भूमिका खेलेकामा निर्वाचन आयोग, सरकार, राजनैतिक दल एवं सामाजिक संघसंस्था सबैको प्रसंशा गरेका छन् । चितवनको भरतपुर नगरपालिका–६ लंकुस्थित लक्ष्मी मावि केन्द्रमा मतदान गरेर उनी मंगलबार साँझ नै राजधानी फर्किएका छन् ।