
काठमाण्डु, ४ मंसिर– युएईमा जारी आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र पपुवा न्यूगिनी (पिएनजी) बीचको मंगलबारको खेलमा नेपालसामु पिएनजीले १४१ रनको विजयी लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको पिएनजीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको छ । पिएनजीका लागि बेलायतका तर्फबाट टेस्ट र एकदिवसीय खेल खेलिसकेका चर्चित विकेटकिपर ग्यारेथ जोन्सले सबैभन्दा बढी ५५ रन बनाएका थिए ।
इएसपीएन क्रिकइन्फोका अनुसार शारजाहँ क्रिकेट रंगशालामा खेलिएको सो खेलमा नेपाली बलरमध्ये कप्तान पारस खड्काले ३, अमृत भट्टराईले २ र जितेन्द्र मुखियाले एक विकेट लिएका थिए । नेपालले केही समयपछि १४१ रनको विजयी लक्ष्यका निम्ति ब्याटिङ सुरु गरेको छ ।
समूह ख मा रहेको नेपालले यसअघि ३ खेलबाट ४ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । मंगलबारको खेलमा विजयी भएमा नेपाल पुनः समूहमा पहिलो स्थानमा आउने छ ।