देशभर ५० प्रतिशत मतदान

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ७:१४ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर- दोस्रो संविधानसभाको निर्वाचन अन्तर्गत ५० प्रतिशत मतदान भैसकेको छ । निर्वाचन आयोगले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी मध्यान्हसम्ममा ५० प्रतिशत मतदान भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता बीरबहादुर राईले सबै क्षेत्रमा शान्तिपूर्ण र उत्साहकासाथ मतदान भैरहेको जानकारी दिए ।

यसअघि गृहमन्त्री माधव घिमिरेले छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण निर्वाचन भैरहेको बताएका थिए । उनले तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरी निर्वाचनलाई भयरहित र मर्यादित बनाउन निर्देशनसमेत दिएका थिए ।

विहान सात बजेबाट शुरु भएको मतदान कार्य साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचनकालागि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसपाली करिब एक करोड साढे एक्काइस लाख मतदाता रहेका छन् । मतदानकालागि अठार हजार ४ सय ५७ मतदान केन्द्र कायम गरिएको छ । प्रत्यक्षतर्फ २ सय ४० र समानुपातिकतर्फ ३ सय ३५ गरी ५ सय ७५ जनप्रतिनिधि संविधानसभाका लागि चुनिनेछन् । बाँकी २६ जना राष्ट्रिय जीवनका प्रतिष्ठित व्यक्तिहरुमध्येबाट नवनिर्वाचित सरकारले मनोनयन गर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानसभामा जम्मा ६ सय १ सदस्यको प्रतिनिधित्व हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us