‘जसले जितेपनि हुन्छ,लोकतन्त्र हार्नु हुदैन’

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ७:४० मा प्रकाशित

नेपालगन्ज, ४ मङ्सिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अर्काे संविधानसभा सदस्य निर्वाचनपछि गठन हुने संविधानसभाले नेपाली जनताको अधिकारको प्रत्याभूति, मुलुकमा दिगो शान्ति स्थापना र आर्थिक विकासलाई प्राथमिकतामा राख्ने प्रतिक्रिया दिएका छन । sushil_koirala
बाँके जिल्ला क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका सभापति कोइरालाले बिहान ७ः१५ बजे नेपालगन्जस्थित जिल्ला वन कार्यालयको हातामा रहेको मतदान केन्द्रबाट मत खसालेपछि पत्रकारलाई प्रतिक्रिया दिँदै सबै मिलेर संविधान निर्माणमा जुट्न आग्रहसमेत गरे ।
“यो निर्वाचन कुनै ख्याल ठट्टामा गरिएको नभई नेपाली जनतालाई लोकतान्त्रिक अधिकारसहित समृद्ध राष्ट्र निर्माण हस्तान्तरण गर्ने अभियानबाट प्रेरित रहेकाले सबैले आफ्नो मताधिकारको निर्धक्क प्रयोग गर्न म आग्रह गर्दछु” उनले भने ।
सभापति कोइरालाको थप भनाइ थियो– “राजनीतिक दलहरु अब सहमतिमा पुग्नैपर्छ, होइन भने जनताको आक्रोशका अगाडि कोही पनि टिक्न सक्दैनन् ।” मुलुकमा जसले जिते पनि लोकतन्त्र हार्न नहुनेमा उनको जोड दियो ।
बाँके जिल्ला क्षेत्र नंं ३ मा चार अस्थायीसहित ७५ मतदान केन्द्र र  ४९ हजार २८८ मतदाता  छन् भने जिल्लाभरि ३०३ मतदान  केन्द्रको व्यवस्था गरिएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रबाट ३८ दल र स्वतन्त्र गरी  ११५ उम्मेदवार चुनावी मैदानमा छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us