भोटेबहालमा बम विष्फोट : बालक घाइते

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ६:५५ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर–स्थानीय भोटेबहालमा अज्ञात समूहले राखेको बम विस्फोट हुँदा एक बालक घाइते भएका छन् ।
टेकु र भोटेबहालबीचको सडकखण्डमा राखिएको बम खेलाउँदा आठ वर्षीय समिर खड्गी घाइते भएको प्रहरीले जनाएको छ । सडकमा राखिएको विस्फोटक पदार्थ बालकले खेलाउँदा पड्किएर घाइते भएको प्रहरी प्रवक्ता वरिष्ट प्रहरी उपरीक्षक गणेश केसीले राससलाई जानकारी दिए ।
घाइते बालकको अहिले वीरअस्पतालमा उपचार भइरहेको छ, भने घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको उनले बताए । उनको दायाँ हात नै उडेको छ । घटनास्थलमा हातका औंला छरपष्ट छन् ।

बालबालिकाले खेलौना ठानेर खेलाइरहेकोबेला बम विष्फोट भएको थियो । बम विष्फोट भएपछि प्रहरीको गाडि बोलाएर अस्पताल पुर्याइएको थियो । स्थानीयले राम्रो सुरक्षा पाउन नसकेको भन्दै आक्रोश पोखेका छन् । घटनाको जिम्मा कसैले पनि नलिए पनि वैद्य माओवादी कार्यकर्ताहरुले निर्वाचन विथोल्ने उद्देश्यले बम विष्फोट गराएको अनुमान छ ।

देशका चितवन, दाङ, दैलेखलगायत जिल्लामा निर्वाचन विरोधी गतिविधि तथा जनतालाई त्रसित बनाउने कार्यमा संलग्न अहिलेसम्म ५६ जनालाई पक्राउ गरिएको प्रवक्ता केसीले बताए ।
कैलालीमा पनि बिष्फोट

संविधानसभा निर्वाचन विथोल्ने उद्देश्यले कैलालीका बिभिन्न स्थानमा बम विष्फोट भएका छन् । मंगलबार विहान बलिया ८ लम्कीस्थित फील्महल नजिक बम विष्फोट भएको छ । बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

यसैगरी लम्कीको बसपार्कमा शंकास्पद बस्तु फेला परेको छ । बम भएको आशंकामा सुरक्षाकर्मीले सो क्षेत्रलाई घेरामा राखेर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेका छन् ।

सोमबार राती कैलालीकै टीकापुर, दुर्गाैली लगायत क्षेत्रमा सिलिन्डर ग्यास बिष्फोट भएको छ । राती ११ बजेतिर अज्ञात समुहले बम बिष्फोट गराए पनि मतदानमा कुनै प्रभाव परेको छैन । शान्तिपूर्ण रुपमा सबै क्षेत्रमा मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us