
बर्दिवास, ३ मंसिर । संविधानसभा निर्वाचनमा महोत्तरी कारागारमा रहेका ४३५ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् ।
कारागारमा रहेका कुल ४७३ जना कैदीबन्दीमध्ये १० नावालिग आश्रित बालबालिका र २८ विदेशीबाहेक ४३५ जनाले मङ्गलबार हुने निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउने कारागार मतदान केन्द्रले जनाएको छ । महोत्तरी कारागारमा अहिले ४७३ जना कैदी रहेकामा १० जना १८ वर्ष नपुगेका आश्रित बालबालिका छन् । त्यसैगरी विभिन्न मुद्दामा सजाय काटिरहेका १८ जना भारतीय र १० जना बङ्गलादेशी नागरिकसहित २८ विदेशी रहेका कारागार प्रशासनले स्पष्ट पारेको छ ।
कारागार मतदान केन्द्रका मतदाताले समानुपातिक प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था रहेको जनाइएको छ । केन्द्रमा मतदान सञ्चालनका लागि सबै तयारी पूरा भएको मतदान अधिकृत बीना बर्माले जानकारी दिए ।