सशस्त्र समूहका कुख्यात नाइके सार्वजनिक

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १४:१२ मा प्रकाशित

Nepal-Police-Logoकाठमाण्डु, ३ मंसिर– प्रहरीले तराईका विभिन्न जिल्लामा सशस्त्र गतिविधिमा संलग्न भूमिगत समूह जनतान्त्रिक मुक्तिमोर्चा (राजन समूह) का अध्यक्ष राजन मुक्ति भनिने रञ्जित झालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

वीरगन्जको ठोरी नाकाबाट केही दिनअघि पक्राउ परेका झालाई केन्द्रीय अनुसन्धान ब्युरोले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीसँगै विभिन्न जिल्लाबाट सशस्त्र समूहसँग सम्बद्ध पाँच अभियुक्तलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा क्रमशः उमेश यादव स्वामी–कैलाली, दीपक सिंह अजय मुक्ति–धनुषा, श्याम यादव पृथ्वी सिंह–धनुषा, भुवनेश्वर मण्डल मनिष–सप्तरी र सुनिल जैसवाल अग्नि–पर्सा रहेका छन् ।

तराईका अन्य १२ वटा भूमिगत संगठनको संयोजक रहेका झालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान टोलीले अन्य सुरक्षा निकायको समन्वयमा पक्राउ गरेको थियो । धनुषा, लक्ष्मीपुर गाविस–७ का राजन मुक्ति उपनामले चिनिएका अभियुक्त झा सशस्त्र गतिविधि, हत्या, हिंसा, अपहरण, विष्फोट, चन्दा आतङ्क जस्ता विविध सङ्गठित तथा जघन्य आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका झा संविधानसभाको निर्वाचनलाई बिथोल्ने उद्देश्यले विभिन्न अन्य १२ वटा भूमिगत सङ्गठनको संयोजक रहेको अनुसन्धानका क्रममा खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विसं २०६१ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला समूह) मा संलग्न झा २०६२ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह) गठन गरी अध्यक्ष बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us