चुनावका दिन नभइ नहुने सबै सेवाहरु सञ्चालन

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १४:०५ मा प्रकाशित

krishna-hari-baskotaकाठमाण्डु, ३ मंसिर- सरकारले सरकारी बिदाका दिनमा पनि जनताको दैनिक अत्यावश्यक सेवालाई निरन्तर रुपमा सञ्चालनमा ल्याइराखेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले दिएको जानकारीअनुसार निर्वाचन प्रयोजनका लागि सरकारले बिदा दिएका दिनमा पनि अत्यावश्यक सेवा सञ्चालन गरिराखेको  छ ।

संविधानसभा निर्वाचनमा मतदान सम्पन्न भएपछि यही मङ्सिर ५ गतेपछि वैदेशिक रोजगारीमा जानेलाई समयमै श्रम स्वीकृति लगायतका सेवा प्रवाह गर्नुपरेकाले आज वैदेशिक रोजगार विभाग खोली सेवा प्रवाह गर्न लगाइएको सचिव बास्कोटाले बताए । विभागको सोमबारै मुख्य सचिव लीलामणि पौडेल र सचिव बास्कोटाले आकस्मिक निरीक्षणसमेत गरेका थिए ।

पेट्रोलियम पदार्थ पर्याप्त

यस्तै उनले नेपाल आयल निगमसँग २१ हजार ७०९ किलोलिटर  पेट्रोलियम पदार्थ सञ्चिती रहेको छ । यसमा पेट्रोल दुई हजार ९८८ किलोलिटर, डिजेल १३ हजार ७२१ किलोलिटर, मट्टितेल एक हजार २३६ किलोलिटर र हवाई इन्धन तीन हजार ७६४ किलोलिटर मौज्दात रहेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासको समस्या नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको पनि सचिव बास्कोटले बताए ।

६ महिनाका लागि नुन

त्यस्तै मुलुकभित्र ८२ हजार ४४३ मेट्रिक टन नुनको मौज्दात रहेको जानकारी दिँदै उहाँले बजारमा देखाइएको नक्कली हाहाकारलाई सरकारले नियन्त्रण गर्ने जनाए । मौज्दात रहेको नुनले ६ महिनाभन्दा बढीको खपत थेग्नसक्ने छ । उनका अनुसार पूर्वाञ्चलमा १५ हजार ३६६ मेट्रिक टन, मध्यमाञ्चलमा २० हजार ५२२ मेट्रिक टन, पश्चिमाञ्चलमा १८ हजार ४११ मेट्रिक टन, मध्यपश्चिमाञ्चलमा १४ हजार ३३२ मेट्रिक टन र सुदूर पश्चिमाञ्चलमा १३ हजार ८११ मेट्रिक टन नुन मौज्दात रहेको छ ।

हेलो सरकार कक्ष खुल्ला

सचिव बास्कोटाका अनुसार मंगलबार बिहान दूधको आपूर्ति व्यवस्था मिलाउन सवारी साधनलाई अनुमतिपत्र उपलब्ध गराई सकिएको छ । यस्तै हेलो सरकारको कक्ष पनि निरन्तर रुपमा सञ्चालन भइरहेको जानकारी दिँदै सचिव बास्कोटाले मङ्सिर १ गते १६ वटा उजुरी, २ गते पनि १६ वटा र १ गते शनिबार बिदाका दिन हेलो सरकारमा १६ वटा गुनासो प्राप्त भएको बताए । सरकारी बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिइएको पनि सचिव बास्कोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us