चुनावको संघारमा राष्ट्रपतिको सन्देश

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १३:५६ मा प्रकाशित

rambaranकाठमाण्डु, ३ मंसिर– राष्ट्रपति डा. रामवरण यादवले निर्भिकता र उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गरी संविधानसभा निर्वाचनको राष्ट्रिय सङ्कल्पलाई सफल र साकार तुल्याउन हार्दिक आह्वान गरेका छन् ।

संविधानसभा निर्वाचन राष्ट्रिय महत्वको विषय भएको भन्दै मतदान गर्ने योग्यता पुगेका नागरिकलाई उनले आह्वान गरेका हुन् । संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा सोमबार राष्ट्रलाई एक सन्देश दिँदै उनले सो आह्वान गरेका हुन् ।

जटिल परिस्थितिमा हुनलागेको संविधानसभाको यो निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गरी राष्ट्रिय आवश्यकताअनुरुपको संविधान निर्माण गर्न नेपालीहरु आफैँ सक्षम छन् भन्ने उदाहरण विश्व समुदायसमक्ष प्रस्तुत गर्नुपरेको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन् ।

सन्देशको पूर्ण पाठ

सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु,

नागरिकले आफ्ना प्रतिनिधिमार्फत शासन गर्ने पद्धति नै लोकतन्त्र हो । नागरिकले लोकतन्त्रमा मात्रै शासन–व्यवस्थामाथि आफ्नो स्वामित्व अनुभव गर्न पाउँछन् । हरेक व्यक्तिका मौलिक हकअधिकारको प्राप्ति र संरक्षण लोकतान्त्रिक शासन–पद्धतिमा मात्र सम्भव हुन्छ । विश्वको समकालीन इतिहासले समेत पुष्टि गरेको कुरा हो – राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको संरक्षण र सम्वद्र्धन तथा नागरिकका आधारभूत आवश्यकताको समुचित परिपूर्तिका निम्ति लोकतान्त्रिक पद्धति अपरिहार्य हुन्छ ।

निर्वाचन लोकतान्त्रिक आदर्श र पद्धतिलाई व्यवहारमा उतार्ने एउटा महत्वपूर्ण माध्यम हो । बहुदलीय प्रतिस्पर्धाको आधारमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने निर्वाचनको माध्यमबाट जनताले आफ्ना योग्य र उपयुक्त प्रतिनिधि छनोट गरी शासन व्यवस्था सञ्चालन गर्दछन् ।

यसै सन्दर्भमा भोलि, २०७० साल मङ्सिर ४ गते हामी पुनः संविधानसभाको निर्वाचनमा सरिक हुँदैछौँ । पहिलो संविधानसभाबाटै संविधान निर्माण हुन नसकेकामा हामी अवश्य पनि दुःखी छौँ, तथापि सो सभाले हासिल गरेका केही महत्वपूर्ण उपलब्धिलाई भने बिर्सन मिल्दैन । माओवादीका लडाकु र हतियार व्यवस्थापन गरी २०६२/६३ को जनआन्दोलनको भावनाअनुरुप शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनमा पहिलो संविधानसभाले पुर्‍याएको योगदान अविस्मरणीय रहनेछ । त्यस्तै, मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्न सो सभाले निर्वाह गरेको ऐतिहासिक र युगान्तकारी भूमिकाको पनि चीरकाल पर्यन्त स्मरण भइरहने छ । यस्ता ऐतिहासिक महत्वका उपलब्धिको रक्षा गर्दै नयाँ संविधान निर्माण गर्ने अभियान सफल तुल्याउने जिम्मेवारी अब दोस्रो संविधानसभाको हुनेछ ।

विसं २०६९ जेठ १४ गते तत्कालीन संविधानसभाको अस्वाभाविक अवसानपछि देशको राजनीतिक परिवेशमा जटिल अवस्था सिर्जना हुन पुग्यो । संविधानसभाको विघटनपछि उत्पन्न राजनीतिक गत्यावरोधको स्थितिलाई चिरेर मुलुकलाई निकास दिन तथा नयाँ संविधानसभाको निर्वाचन गर्ने प्रयोजनका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अध्यक्षतामा अन्तरिम मन्त्रिपरिषद् गठन गर्ने विशेष निर्णय गर्नुपर्‍यो ।

यस्तो जटिल परिस्थितिमा हुन लागेको संविधानसभाको यो निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गरी राष्ट्रिय आवश्यकताअनुरुपको संविधान निर्माण गर्न हामी नेपालीहरु सक्षम छौँ भन्ने उदाहरण विश्व समुदाय समक्ष प्रस्तुत गर्नुपरेको छ । यसका लागि हामी सबै वर्ग, धर्म, लिङ्ग र समुदायका नेपाली दिदीबहिनी दाजुभाइबीच रहिआएको आपसी सद्भाव, भाइचारा एवम् बन्धुत्वको भावनालाई अझ सुदृढ एवम् गाढा तुल्याउनु जरुरी छ ।

निर्वाचनबिनाको राजनीतिक अभ्यासले मात्र नागरिकका आकाङ्क्षाहरुको प्रतिनिधित्व गर्न सक्दैन । आफ्नो संविधान आफैँ निर्माण गर्ने नेपाली जनताको लामो सपनालाई साकार तुल्याउन संविधानसभाभन्दा राम्रो विकल्प अरु हुन सक्दैन । कुनै पनि निर्वाचनमा सहभागी हुने अथवा नहुने लोकतान्त्रिक अधिकार सबै नागरिकलाई प्राप्त हुन्छ । तर निर्वाचनमा सहभागी हुने, उम्मेदवार बन्ने या मतदान गर्ने नागरिक अधिकारको सम्मान सबैले गर्नुपर्छ । लोकतान्त्रिक मान्यता पनि यही हो । डर, त्रास र हिंसाको राजनीतिले कहिल्यै र कहीं पनि दिगो समाधान दिँदैन भन्ने प्रत्यक्ष अनुभव हामी आफैँले पनि गरिसकेकै छौँ । यसर्थ आफ्ना सानानिता विमतिलाई थाती राख्दै जनताको अभिमत प्राप्त गरी जनचाहना र राष्ट्रिय आवश्यकताअनुरुपको संविधान निर्माण गर्ने यो सुअवसरलाई सबै राजनीतिक दल, उम्मेदवार र मतदातालगायत सम्पूर्ण नेपाली नागरिकले सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । राष्ट्रिय महत्वको यस घडीमा मतदान गर्ने योग्यता पुगेका हरेक नेपाली दिदीबहिनी दाजुभाइलाई निर्भिकता र उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गरी संविधानसभा निर्वाचनको राष्ट्रिय सङ्कल्पलाई सफल र साकार तुल्याउन हार्दिक आह्वान गर्दछु । धन्यवाद ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us