निर्वाचन आयुक्त शर्माले उम्मेदवारलाई भनिन् ‘तँ भोटे’ चुप लाग

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १३:३५ मा प्रकाशित

hitbahadur-tamang-and-ila-sharmaनुवाकोट, ३ मंसिर– निर्वाचन आयुक्त इला शर्माले एकीकृत माओवादी नुवाकोट–२ का उम्मेदवार हितबहादुर तामाङलाई अपमानजक शब्द प्रयोग गरी हप्काएकी छन् । खानीगाउँस्थित रतनदेउ प्रावि मतदान केन्द्र अवलोनका लागि काठमाण्डुबाट हेलिकोप्टरमा गएकी शर्माले तामाङलाई टेलिफोनमा गाली बेइज्जती गरेकी हुन् ।

उनले निर्वाचन आचारसंहिताविपरीत काँग्रेस उम्मेदवार रामशरणलाई भेटेलगत्तै तामाङलाई हप्काएकी हुन् । काँग्रेस कोटामा निर्वाचन आयुक्त नियुक्त भएकी शर्मा महतकी साथी हुन् । निर्वाचनमा पराजय निश्चित भएपछि महतले निर्वाचन स्थगनको माग गर्दै शर्मालाई चार पेज लामो निवेदन बुझाएका छन् । उनले तामाङले आफूलाई निर्वाध रुपमा निर्वाचन प्रचार–प्रसारमा जान नदिएको आरोप लगाएका छन् ।

यस्तो थियो घटनाक्रम

नुवाकोटमा क्षेत्र नम्बर–१ को रातमाटे, २ को सुनखानी र ३ को बट्टारमा गरी तीन वटा महिलामैत्री मतदान केन्द्र छन् । आयुक्त शर्मा तीनमध्ये क्षेत्र नम्बर–२ को महिलामैत्री केन्द्र रहेको खानीगाउँस्थित रतनदेउ प्रावि केन्द्रको अवलोकलनका लागि राजधानीबाट शनिबार हेलिकोप्टरमा त्यसतर्फ गइन् ।

सुरक्षाको दृष्टिकोणले हेलिकोप्टर अवतरणका लागि उनलाई सदरमुकाममा रहेको क्षेत्र नम्बर–३ महिलामैत्री मतदान केन्द्रको अवलोकन गर्नुपर्ने हो । तर उनी खानीगाउँ नै गइन् । कारण, उनका साथी र निर्वाचन आयुक्त बनाउनसमेत भूमिका खेलेका काँग्रेस नेता रामशरण महत सो क्षेत्रका उम्मेदवार हुन् । शर्माको नुवाकोट जानुको उद्देश्य मतदान केन्द्रको अलवोकन भ्रमण गर्नुभन्दा पनि निर्वाचनमा पराजित हुने डरले आत्तिएका महतलाई सघाउनु थियो ।

केहीबेर मतदान केन्द्रको अवलोकन गरेपछि उनी निर्माण व्यवसायीसमेत रहेका काँग्रेस क्षेत्र नम्बर–२ नुवाकोटका सभापति ध्रुव श्रेष्ठको खानीगाउँ ढिकुरेस्थित क्रसर उद्योगमा गइन् । जहाँ उनको प्रतीक्षामा थिए, काँग्रेस नेता महत । १५ मिनेट लामो कुराकानीमा महतले आफू पराजित हुने सम्भावना बढेकाले नुवाकोट–२ को निर्वाचन स्थगन गर्नका लागि पहल गरिदिन आग्रह गरे र चार पेज लामो निवेदन बुझाए ।

महतकै अगाडिबाट शर्माले क्षेत्रीय निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईलाई टेलिफोन गरिन् । नुवाकोट–२ का एमाओवादी उम्मेदवार हितबहादुर तामाङको उम्मेदवारी रद्ध गर्न मौखिक निर्देशन दिइन् । भट्टराईले मौखिक निर्देशनका भरमा आफू तामाङको उम्मेदवारी रद्ध गर्नका लागि सिफारिस दिन नसक्ने बताए । भट्टराईलाई शर्माले आफैं तामाङको उम्मेदवारी रद्द गर्न सक्ने बताएर टेलिफोन राखिदिइन् । लगत्तै भट्टराईले एमाओवादी उम्मेदवार तामाङलाई फोन गरे र आफूलाई जसरी पनि भेट्न आउन भने । आफू विकट गाउँमा रहेको र आउन नसक्ने बताएका तामाङ अन्तमा राति साढे १० बने भट्टराईलाई भेट्न आइपुगे ।

भट्टराईले शर्माको आदेशबारे जानकारी दिएपछि तामाङले शर्मालाई टेलिफोन गरे । शर्माले तामाङको कुरा नसुन्ने बताइन् र एकोहोरो गाली मात्रै गरिन् । आफ्ना कुरा सुन्न तामाङले धेरैपटक आग्रह गरे तर उनले ‘तँ भोटेको कुरा सुन्नुछैन’ भन्ने जवाफ दिइन् । त्यसपछि तामाङले पनि भनिदिए ‘तैंले सकेको गर, हद गरिस् मेरो उम्मेदवारी रद्द गर्लिस् ।’ उनले मौन अवधि सुरु भइसकेपछि आफ्ना प्रतिद्वन्द्वी महतलाई भेटेकोमा शर्मास“ग जान्न चाहेपछि उनले ‘तँ भोटेलाई के सरोकार ?’ भन्ने जवाफ दिइन् ?’ जवाफमा उनले आफू त्यसबारे अदालतमा जाने बताएपछि शर्माले फोन राखिदिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us