हिमालपारि पनि चुनावी तयारी पूरा

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ९:१७ मा प्रकाशित

upper-mustang-पोखरा, ३ मंसिर– हिमालपारिका जिल्ला मुस्ताङ र मनाङमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । चिसो मौसमका बाबजुत पनि संविधानसभा निर्वाचनका लागि सबै कर्मचारी आ–आफनो मतदान केन्द्रमा  पुगिसकेका छन् ।

एक निर्वाचन क्षेत्र रहेको मुस्ताङका तीन अस्थायी मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाइएको छ । १६ गाविस रहेको मुस्ताङमा ६ हजार ८४२ मतदाता रहेका छन् । सो जिल्लामा ३२ स्थायी र तीन अस्थायी गरी ३५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचन कार्यालयले ८० प्रतिशत मतदातालाई मतदाता परिचयपत्र वितरण गरिसकेको छ ।

मुस्ताङमा विभिन्न ६ राजनीतिक दलका ६ र एक स्वतन्त्र गरी सातजना चुनावी मैदानमा खडा भएका छन् ।

यस्तै १३ गाविस रहेको मनाङमा  मतदाताको सङ्ख्या चार हजार ७९४ रहेको छ । विभिन्न पाँच राजनीतिक दलका पाँच जनाले संविधानसभा निर्वाचनका लागि प्रतिस्पर्धा गर्दैछन् । अन्य जिल्लामा विभिन्न व्यवसाय गरी बसेका यी दुवै जिल्लाका मतदाता घर फर्किसकेको बताइएको छ ।

बहिष्कारवादीको उपस्थिति शून्य भएकाले ती जिल्लामा अहिलेसम्म त्यस्ता कुनै अप्रिय घटना नघटेको जिल्लाका निर्वाचन कार्यालयका प्रमुखहरुले बताएका छन् ।

मकवानपुरमा पनि तयारी सकियो

हेटौँडा– संविधानसभाको निर्वाचन मकवानपुरको चार वटै निर्वाचन क्षेत्रका मतदान केन्द्र, उपकेन्द्रमा निर्वाचन कार्यक्रमको तयारी सोमबार सम्पन्न भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा कुल २९२ वटा मतदान केन्द्र, उपकेन्द्र रहेका छन् ।

नेपाल प्रहरी तथा म्यादी प्रहरीकोसमेत तीन हजार ३६६ सुरक्षार्थीको व्यवस्था गरिएको मकवानपुरका प्रजिअ एक नारायण अर्यालले बताए । जिल्लामा अहिले एक लाख, ९२ हजार ३१८ मतदाता रहेका छन् । विसं २०६४ को निर्वाचनमा मकवानपुरमा दुई लाख ८८ हजार ७०० जना मतदाता कायम थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us