एमाले उम्मेदवार प्याकुरेलका ६ वटा गाडी प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ८:३७ मा प्रकाशित

suman-pyakurel-out of trackराजबिराज ३ मंसिर–सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सुमनराज प्याकुरेलले निर्वाचन आचारसंहिता विपरितको काम गरेपछि प्रहरीले ६ वटा गाडी नियन्त्रणमा लिएको छ । झोलामा पैसा लिएर गएका प्याकुरेलका दाई सुवोध प्याकुरेल समेत घटनास्थलबाट भागेका सप्तरीका पत्रकार वैद्यनाथ यादवले जनाएका छन ।

मतदातालाई प्रभावमा पार्न ६ वटा गाडी र सामाग्री प्रयोग गरेको भन्दै फत्तेपुर ५ खोरियाबाट प्रहरीले प्याकुरेलले प्रयोग गरेका ६ वटा गाडी नियन्त्रणमा लिएको छ । त्यस्तै सप्तरीको निर्वाचन क्षेत्रनम्बर १ का काँग्रेस उम्मेदवार रामकुमार चौधरीले मतदातालाई वितरण गर्न लैजादैं गरेका ४० वटा चापाकल प्रहरीले बरामद गरेको छ । चौधरीले मतदातालाई प्रभावमा पार्नका लागि ४० वटा चापाकल सप्तरीको फर्सेट लगेका थिए । आइतवार एकैदिन सप्तरी राजविराजका विभिन्न बैंक तथा वित्तिय संस्थाबाट १५ करोड रुपैयाँ निकासा भएको छ ।  यसैबीच सप्तरी क्षेत्र नम्बर तीन वाट उम्मेदवारी दर्ता गराएका तराई मधेश सदभावना पार्टीका उम्मेदवार महेश प्रसाद यादवको नाम समेत मतदाता नामावलीमा नरहेको रहस्य सार्वजनिक भएको छ ।

आचारसंहिता विपरीत कार्य गर्ने ६ जनासँग स्पष्टीकरण माग

जिल्ला निर्वाचन कार्यालय सप्तरीले सप्तरीका पाँचजना उम्मेदवारसहित ६ जनासँग स्पष्टीकरण मागेको छ भने एक उम्मेदवारलाई सचेत गराएको छ ।
कार्यालयले मधेसी जनाधिकार फोरम नेपाल निर्वाचन क्षेत्र नं ३ का प्रत्यक्षतर्फका उम्मेदवार शैलेन्द्रप्रसाद साहसँग सोमबार स्पष्टीकरण मागेको छ । आचारसहिंता विपरीत गत शुक्रबार काम गरेको भन्दै परेको उजुरीका आधारमा उम्मेदवार साहसँग स्पष्टीकरण सोधिएको जिल्ला निर्वाचन अधिकारी प्रदिपकुमार साहले जानकारी दिए ।

स्पष्टीकरण पत्रमा सर्वसाधारणको हितमा प्रतिकूल असर पर्नेगरी माइक प्रयोग गरेको, प्रशासनको अनुमति नलिइ मोटरसाइकल ¥याली निकालेको, चुनाव प्रचारमा कार्यकर्ताले मादकपदार्थ सेवन गरेको, अनावश्यक होहल्ला गरी शान्तिमा बाधा अवरोध गरी संविधानसभा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको आरोप छ । उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र बुझाइसकेको अनुगमन अधिकृत राकेशमणी उपाध्यायले बताए ।

यसैगरी, निर्वाचन कार्यालयले मागेअनुसार २४ घण्टाभित्र नेकपा– एमालेका क्षेत्र नं ५ का उम्मेदवार गोविन्दबहादुर न्यौपाने, मधेसी जनाधिकार फोरम नेपालका निर्वाचन क्षेत्र नं २ का उम्मेदवार चन्द्रनारायण यादव र उनका दाजु सूर्यनारायण यादवले गत शुक्रबार नै स्पष्टीकरण बुझाएका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीका क्षेत्र नं ३ का उम्मेदवार जयप्रकाश ठाकुरले आचारसहिंता विपरीत नगद तथा छठ पूजाको आवश्यक सामग्री वितरण गरेको उजुरी परेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ ।

यसैगरी, सप्तरी क्षेत्र नं २ का सद्भावना पार्टीका उम्मेदवार नवलकिशोर साहले गत कात्तिक ३ गते स्पष्टीकरण बुझाएका थिए । घोघिँदाहा जन्डोलमा आयोजित फुटबल प्रतियोगिताको गत असोज ३० गते उद्घाटन गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले साहलाई पत्र पठाएको थियो ।

यसअघि जिल्ला निर्वाचन कार्यालयले तराई मधेस सद्भावना पार्टीका क्षेत्र नं १ का उम्मेदवार शत्रुघनप्रसाद रौनियारलाई सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदा सङ्घले गरेको विभिन्न कार्यलाई आफूले गरेको भनी भ्रमात्मक प्रचार सामग्री बाँडेकोमा गत कात्तिक २० गते सचेत गराएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us