भक्तपुरमा रगत अभाव, रक्तदान गर्न आग्रह

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ८:०४ मा प्रकाशित

भक्तपुर, ३ मङ्सिर– रगत नपाए भक्तपुर जानु भन्ने नारा यतिखेर भक्तपुरमा उल्टिएको छ ।  रक्तसञ्चार केन्द्र काठमाण्डुमा रगत अभाव हुँदा पनि भक्तपुरमा रगत अभाव नहुने भए पनि अहिले भक्तपुरमा नै रगतको अभाव भएको छ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामा सञ्चालित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको शाखा सभापति मनोजकुमार थापाले बताए । भक्तपुरमा रगत लिन भक्तपुर, काठमाण्डु र ललितपुरका विभिन्न अस्पतालबाट बिरामीका आफन्तहरु आउने गरे पनि अहिले रगतको अभाव भएपछि समस्यामा परेको उनले बताए ।
दैनिक रक्तदान कार्यक्रम आयोजना गर्दा पनि रक्तदान गर्नेहरुको सङ्ख्यामा कमी आएपछि रगतको अभाव भएको हो । दसँैदेखि नै रगत कम हुँदै गएको बताइएको छ ।
यहाँ दैनिक ५०० पिन्टभन्दा बढी विभिन्न समूहका रगत माग हुने गरेको छ, तर रक्तदान कार्यक्रम र रक्त सहयोगीमार्फत दैनिक १०० देखि १५० पिन्टसम्म रगत ल्याउने गरे पनि रगतको मागलाई भने पूरा गर्न सकिएको छैन ।
रगत लिन आउनेलाई आवश्यकता हेरेर एकदेखि दुई पिन्टसम्म दिने गरेको बताउँदै थापाले दैनिक पाँच पिन्टसम्म रगत लिन आउनेलाई आवश्यकताअनुसार रगत दिन नसकिएको बताए । रगतको चरम अभाव भएपछि रक्तदान कार्यक्रम गर्न र रक्तसञ्चार केन्द्रमा आएर रक्तदान गर्न थापाले सर्वसाधारण सबैलाई आग्रह गरेका छन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us