समूहगत हिँड्डुल र समूहमा मोटरसाइकल चलाउन रोक

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ७:५९ मा प्रकाशित

चितवन, ३ मङ्सिर– एकपछि अर्को अप्रिय घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार पनि समूहगत हिँड्डुल र समूहमा मोटरसाइकल चलाउने नपाउने व्यवस्था गरेको छ ।
निर्वाचन आचारसंहितालाई पूर्ण पालना गराउनका लागि स्थानीय प्रशासनले समूहगत हिँड्डुल र धेरै सङ्ख्याको मोटरसाइकलको यात्रा रोकेको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताए ।
निर्वाचनको मौन अवधिमा राजनीतिक दलका गतिविधि गर्न नपाइने भए पनि पछिल्लो समय सो कार्य बढेर गएपछि स्थानीय प्रशासनले त्यसलाई रोक लगाउन कडाइका साथ प्रस्तुत भएको छ ।
साँझ ६ बजेपछि मोटरसाइकल तथा सवारीसाधनमा हिँड्डुल गर्न पनि स्थानीय प्रशासनले रोक लगाएको छ । निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि सबै राजनीतिक दलका कार्यकर्तालाई संयमित हुन पनि प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले चितवनमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री पाँचवटै निर्वाचन क्षेत्रमा पुगिसकेको बताए ।
कार्यालयले पत्रकार सम्मेलन आयोजना गरी निर्वाचन तयारीका विषयमा जानकारी गराएको हो । जिल्लाको पाँच निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकका लागि ३७८ मतदान केन्द्र तय गरिएको छ । त्यस्तै राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका लागि १० वटा मतदान केन्द्र तय गरिएको सो अवसरमा जानकारी गराइयो । ती केन्द्रमा निर्वाचनका लागि चाहिने ६४ प्रकारका सामग्री पुगिसकेको उनले बताए ।
जिल्लाका पाँच क्षेत्रका लागि निर्वाचन गराउन दुई हजार ६५० कर्मचारी खटिएका छन् । जसमध्ये ६०४ जना महिला छन् । मतदान सम्पन्न गर्न क्षेत्र नं १ मा ९६ महिलासहित ५१९, क्षेत्र नं २ मा १२३ महिलासहित ५८५, क्षेत्र नं ३ मा १३८ महिलासहित ५१८, क्षेत्र नं ४ मा १९९ महिलासहित ५६६ र क्षेत्र नं ५ मा ४८ महिलासहित ४६२ जना कर्मचारी खटाइएको छ । जसमध्ये ३८८ जना मतदान अधिकृत र ३८८ जना नै सहायक मतदान अधिकृत रहेको मुख्य निर्वाचन अधिकृत आचार्यले बताए ।
त्यसैगरी क्षेत्र नं ३ को बालकुमारी कन्या माविको ‘क’, निमावि बाह्रघरेको ‘ग’ र लक्ष्मी उच्च माविको ‘घ’ केन्द्रमा सबै कर्मचारी महिला रहेको सो अवसरमा जानकारी गराइयो । त्यसैगरी क्षेत्र नं ३ र ४ मा दुई÷दुईजना अपाङ्ग कर्मचारी पनि निर्वाचनमा खटिएका छन् । मुख्य निर्वाचन अधिकृत आचार्यले कर्मचारीलाई सुरक्षाको घेराभन्दा बाहिर नजान निर्देशन गरिएको बताए ।
मतदान केन्द्रसम्म कर्मचारी एवम् निर्वाचन सामग्री सहज ढङ्गबाट पुगेको पनि उनले बताए । कर्मचारी पुगेलगत्तै शान्तिपूर्ण ढङ्गबाट परिचयपत्र वितरण भइरहेको जानकारी गराइयो । मतदानमा खटिएका कर्मचारीलाई कोही कसैप्रति पूर्वाग्रही नबनी निर्वाचनमा खटिन आग्रह गरेको उनले बताए । उनले भने “सबै एक न एक विचारसँग आबद्ध छन् यद्यपि आफ्नो आस्थाको थैलीको मुख बन्द गर्न भनेको छु, खुलेर पोखियो भने आँधी बेहरी आउनेछ जसले उनीहरु स्वयम्लाई बढार्छ ।” रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us