मतदानलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन निर्देशन

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ७:४९ मा प्रकाशित

काठमाण्डु, ३ मङ्सिर– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचनको मतदान कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण रुपमा गराउन पूर्ण क्षमता र आत्मबलका साथ काम गर्न सरकारका चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन । khilraj regmi
मन्त्रिपरिषद् अध्यक्षको निवास बालुवाटारमा सोमबार भएको सुरक्षा स्थितिको समीक्षा बैठकमा उहाँले देशभरिका मतदान केन्द्रहरुमा मतदाताहरुलाई निश्चिन्त र ढुक्क भई निर्भीकतापूर्वक मतदान गर्ने वातावरणको प्रत्याभूति गर्न निर्वाचनको यो अन्तिम घडीमा रातदिन नभनी काम गर्न पनि सुरक्षा प्रमुखहरुलाई निर्देश दिनुभएको उनका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिए ।
बहिष्कारवादी समूहले गर्न सक्ने अवरोधको स्थितिलाई सामना गरी त्यस्ता गतिविधिलाई पूर्णरुपमा निस्तेज पार्न र निर्वाचनविरोधी गतिविधि हुन नदिन अवलम्बन गरिँदै आएको कानुनबमोजिमको कारबाहीलाई निरन्तरता दिने विषयमा बैठकमा छलफल भएको थियो ।
अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचनको मतदान कार्यक्रम सम्पन्न गरी मतपरिणाम सार्वजनिक नभएसम्म देश र जनताको सुरक्षाका लागि अहोरात्र खटिनुपर्ने अवस्था भएकाले यस अवधिमा आवश्यक पर्ने सुरक्षा प्रबन्धको व्यवस्थापनका लागि हरक्षण तयारी अवस्थामा रहन मातहतका अधिकारीलाई निर्देश गर्न पनि निर्देशन दिएका छन ।
नागरिकको मताधिकार सुनिश्चित गरी स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न मुलुकभरका सम्पूर्ण मतदान केन्द्रको सुरक्षा स्थिति मजबुत रहेको विश्वास दिलाउँदै मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले निर्धक्क भई मतदानमा सहभागी हुन सम्पूर्ण मतदाताहरुलाई पुनः आग्रह गरेका छन ।
बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, प्रधानसेनापति गौरवशम्शेर जबरा, गृहसचिव जनार्दन नेपाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङलगायत सुरक्षासँग सम्बद्ध उच्च अधिकारीहरु उपस्थित थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us