निर्वाचन पर्यवेक्षण जारी

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ५:५२ मा प्रकाशित

वीरगन्ज, ३ मंसिर । संविधानसभा निर्वाचन पर्यवेक्षणका लागि अनुमति पाएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पर्यवेक्षक टोलीले पर्सामा पर्यवेक्षणको काम सुरु गरेका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का जिल्ला संयोजक कमलमोहन पोखरेलका अनुसार टोलीले अधिकांश मतदान केन्द्रमा पर्यवेक्षक परिचालन गरिसकेको छ । निर्वाचन क्षेत्र नं ३, ४ र ५ मा प्रायः सबै मतदान केन्द्रमा पर्यवेक्षक परिचालन भएको संयोजक पोखरेलको भनाइ छ ।

त्यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग, तराई निर्वाचन पर्यवेक्षक मञ्च र मधेस मानवअधिकार आ“खालगायत निर्वाचन पर्यवेक्षक टोलीका सदस्यले आजदेखि नै पर्यवेक्षणको काममा सक्रिय देखिएका छन् ।

यसअघि युरोपेली संघ र कार्टर सेन्टरले जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा जानकारी लिएका थिए । उनीहरूले मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीसँग मतदाता शिक्षा, आचारसंहिता पालना, मतदानस्थलको अवस्था, जनशक्ति परिचालनलगायत विषयमा चासो राखेका थिए ।
जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले निर्वाचनको सबै तयार पूरा भएको र आवश्यक सामग्रीसहित सबै मतदानस्थलको केन्द्रमा निर्वाचन खटिएका कर्मचारी एवम् सुरक्षाकर्मी पुगिसकेको जानकारी दिँदै निर्धक्कसँग आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आह्वान गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us