‘एमाओवादीबाट विस्फोट र आगजनी’

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ५:१४ मा प्रकाशित

CPN-UMLचितवन, ३ मंसिर–नेकपा एमाले चितवन जिल्ला कार्यालय र प्रचारका लागि खुलेका कार्यालयमा आइतबार एकीकृत नेकपा माओवादीले बम विस्फोट एवम् आगजनी गरेको एमालेले आरोप लगाएको छ । एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा दुई र भरतपुर नगरपालिका वडा नं. ११ को प्रचार कार्यालयमा एउटा पेट्रोल बम प्रहार गर्नाका साथै भरतपुर नगरपालिका कै वडा नं. ८ र १२ तथा मङ्गलपुर र भण्डारा गाविसको प्रचार कार्यालयमा आगजनी र तोडफोड गरिएको एमालेको भनाइ छ ।

विस्फोटबाट पार्टी कार्यालयमा बसेका ध्रुव बर्तौला घाइते भएको र जिल्ला सचिवको कोठा, चौकीदार भवन र पर्खालमा क्षति पुगेको एमाले चितवनले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

एमाओवादी चितवन क्षेत्रनम्बर ३ का उम्मेदवार नारायण दाहालको प्रचार टोलीमाथि आक्रमण र दुई गाडीमा तोडफोड भएलगत्तै एमाले पार्टीको कार्यालयमा विस्फोट र तोडफोड भएको थियो । दुवै पार्टीले घटनामा एकार्काको हात रहेको बताएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटना भएलगत्तै स्थानीय प्रशासनले अघोषित कफ्र्यु जारी गरी सुरक्षा कडाइ गरेपछि राति अबेर स्थिति सामान्य बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us