
काठमाण्डु, ३ मंसिर–दाङको तुलसीपुरमा रहको अञ्चल प्रहरी कार्यालय नजिक सोमबार बिहान सुतली बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षेती नभएको प्रहरीले जनाएको छ । मतदान केन्द्रलाई लक्षित गरी विस्फोट भएको हो ।
यसैगरी नुवाकोटको कुमरी ९ मा सिलिण्डर बम, चौघडा ३ मा तुप्चे १ मा बम विष्फोट भएका छन् । विष्फोटबाट कुनै क्षति नभए पनि स्थानीय त्रसित भएका छन् । विष्फोटको आवाज सदरमुकाम विदुरसम्म सुनिएको थियो । सो स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
काठमाण्डुको बालकोटस्थित हनुमन्तेपुलमा भेटिएको प्रेसर कुकर बम, बुढानिलकण्ठको चप्लेगाउँलगायत स्थानमा भेटिएका बम नेपाली सेनाको टोलीले निष्कृष्य पारेको छ ।
सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेका छन् । सप्तरीकै बरमझिया र कञ्चनपुरका विभिन्न मतदान केन्द्रमा पनि बम फेला परेका छन् ।
बम राख्ने र विष्फोट गराउने समूह एकीन नभए पनि चुनाव विरोधी गतिविधि गर्दैै आएको वैद्य माओवादी नेतृत्वको मोर्चाको यसमा हात भएको अनुमान गरिएको छ ।