मतदान गर्न आउने बढे

काठमाण्डु टुडे २०७० मंसिर ३ गते २:०२ मा प्रकाशित

सिलगढी, ३ मंसिर–डोटीको काडामाडौं–९ चैकोटका बहादुरे विक भारतको महाराष्ट्रबाट मतदान गर्न घर आएका छन् । उनीमात्रै होइन जिल्लाका विभिन्न ग्रामीण बस्तीबाट कामको खोजीमा भारत गएका युवा घर फर्किसकेका छन् । देशमा बढ्दै गएको संविधानसभाको वातावरणलाई हेरेर मतदान गर्न मात्र घर आएको सिमचौरका नागेन्द्र बमले बताए ।

सबैलाई उस्तै जोस छ । संविधानसभाको चुनावमा मत दिनका लागि आफूहरु घर फर्केको उनीहरु बताउँछन् । संविधानसभाको चुनावपछि देशमा स्थायी कानुन बन्छ, शान्ति हुन्छ– घर फर्केकाहरुको विश्वास छ । मतदान गर्न आउने धेरै युवाको भनाइ छ– “देशमा रोजगारीको व्यवस्था होस् काम गर्न देश बाहिर जानु नपरोस् ।” भारतकै बैङ्गलोरबाट फर्किएका गिरिचौका राजेन्द्र बोहराका भनाइमा विदेशमा गएर कठिन काम गर्नुभन्दा देशमै रोजगारी हुने व्यवस्था अब बन्ने संविधानमा लेखिनुपर्छ ।

विगतको चुनावले संविधान बनाउन नसके पनि यस पटकको चुनावले देशलाई समाधान दिने विश्वासका साथ आफू भारतबाट जागिर छोडेर चार महिना अगाडि आफ्नो गाउँ फर्केको धानुगाउँका ललित धानुकले बताए । धानुक सरकारी स्वामित्वमा रहेको भारतको एक कम्पनीमा काम गर्ने युवक हुन् । धानुकको आशा छ, यसपटक भने देशले नयाँ संविधान पाउने छ ।

यस पटक विदेशबाट कतिजना घरतर्फ आएका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि विशेषगरी भारतबाट घर आउनेहरु बसबाट धेरै भएको ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । धेरै युवा विगतको निर्वाचन जस्तै मत दिन पाइन्छ भनी घर फर्किए पनि यसपटक परिचयपत्रको व्यवस्था गरिएकोबारे अनविज्ञ रहेको गाविस सचिव हेकराज जोशीले बताए । उनका अनुसार अधिकांश युवा भारतबाट मत दिनका लागि जागिर छाडेर घर फर्केका छन् । विगतको समयमा निर्वाचनमा परिचय बनाएर नोकरीका लागि अन्यत्र गएकाहरुसमेत घर फर्किन थालेका छन् ।

संविधानसभाको चुनावलाई लक्ष्य गरी आवतजावत गर्नेहरु बढी रहेको यातायात व्यवसायी मानबहादुर धामीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us