मालद्वीपमा यामिनले शासन सम्हाले

काठमाण्डु टुडे २०७० मंसिर २ गते १५:५५ मा प्रकाशित

माले, २ मङ्सिर–मालद्वीपमा दुई वर्षसम्म चलेको राजनीतिक समस्या अन्त्य गर्दै राष्ट्रपति पदको निर्वाचनमा विजयी अब्दुल्लाह यामिनले आइतबार पदको सपथग्रहण गरेका छन । Abdulla-Yamin
यस द्वीपराष्ट्रमा लामो समयसम्म शासन गर्ने शक्तिशाली व्यक्ति मौमुन अब्दुल गयुमका भाइ यामिनलाई राष्ट्रिय रुपमा टेलिभिजनमा प्रसारित कार्यक्रममा प्रधानन्यायाधीशले सपथग्रहण गराएका हुन । उक्त कार्यक्रममा पराजित उम्मेदवार मोहमद नसिद पनि उपस्थित उपस्थित थिए ।
सपथग्रहणपछि यी ५४ वर्षीय राजनीतिज्ञलाई सेनाले २१ तोपको सलामी चढाएको थियो र उनले पहिलो सम्बोधनमा तीन लाख ५० हजार जनसङ्ख्या भएको यस मुलुकका छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताए ।
अमेरिका तथा भारतले उनलाई बधाइ दिएका छन् भने उनीहरुले नयाँ नेतासँग मिलेर काम गर्न चाहेको बताएका छन् । सपथग्रहण अगाडि यामिनले मुलुकमा स्थायित्व आवश्यक रहेको बताएका थिए ।
यसअघि नसिदले पनि आफ्नो पराजय स्वीकार गरेका थिए र उनले अन्त्यमा मुलुकले प्रजातान्त्रिक रुपमा निर्वाचित नेता प्राप्त गरेकोमा आफ्नो खुसी व्यक्त गरेका थिए ।
पदमुक्त भएका राष्ट्रपति मोहमद वाहिदले एएफपीसँगको एक अन्तर्वार्तामा हिन्द महासागरमा रहेको द्वीपहरुको समूह आफ्नो मुलुकमा प्रजातन्त्र अझै बलियो भइनसकेको स्वीकार गरेका छन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us