राष्ट्रिय, अन्तर्राष्ट्रिय टोलीबाट पर्यवेक्षण सुरु

काठमाण्डु टुडे २०७० मंसिर २ गते १४:४० मा प्रकाशित

नेपालगन्ज, २ मङ्सिर– संविधानसभा निर्वाचन पर्यवेक्षणको अनुमति पाएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पर्यवेक्षक टोलीहरुले बाँके जिल्लामा पर्यवेक्षणको काम सुरु गरेका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का जिल्ला संयोजक लोकबहादुर शाहका अनुसार समितिको टोलीले बाँके जिल्लाका सबै मतदान केन्द्रमा पर्यवेक्षक परिचालन गरिसकेको छ ।

त्यसैगरी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानवअधिकार आयोग, तराई निर्वाचन पर्यवेक्षक मञ्चलगायत निर्वाचन पर्यवेक्षक टोलीका सदस्य पर्यवेक्षणको काममा सक्रिय देखिएका छन् । यसअघि युरोपियन युनियन र कार्टर सेन्टरले बाँके जिल्लामा निर्वाचन तयारीका सम्बन्धमा जानकारी लिएको थियो । युनियनका पेट्रा सिरोक र कार्टर सेन्टरका नतासा रोचाइल्ड नेतृत्वको पर्यवेक्षक टोलीले मुख्य निर्वाचन अधिकृत हरिप्रताप केसी र अन्य निर्वाचन अधिकृतसँग निर्वाचनसम्बन्धी कामको प्रगति सम्बन्धमा छलफलसमेत गरेको थियो ।

टोलीले मतदाता शिक्षा, आचारसंहिता पालना, मतदान स्थलको अवस्था, जनशक्ति परिचालनलगायतका विषयमा जानकारी हासिल गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार यहाँका राजनीतिक दलसँग आचारसंहिता पालनाका विषयमा छलफल गरिने भएको छ ।

रौतहटमा निरीक्षण
गौर, २ मंसिर– उच्चस्तरीय अनुगमन समितिले आज रौतहटको दुई निर्वाचन क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्लको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले जिल्लाका अति संवेदनशील मानिने दुईवटा निर्वाचन क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।

टोलीले जिल्लाको निर्वाचन क्षेत्र नं ३ र ४ को निरीक्षण गरेका हो । निरीक्षणको क्रममा निर्वाचनका दिन तय गरिएको सुरक्षा योजनाबारे सचिव मल्लले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएका थिए । टोली नेता मल्लले संविधानसभा निर्वाचन निष्पक्ष, धाँधली र भयरहित रुपमा सम्पन्न गर्न सहयोग रौतहटका सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us