एमालेद्वारा ध्यानाकर्षण, एमाओवादीद्वारा काँग्रेसमाथि जाहेरी

काठमाण्डु टुडे २०७० मंसिर २ गते १४:३३ मा प्रकाशित

CPN-UML-FLag4_20120529085323काठमाण्डु, २ मंसिर– एमालेको एक प्रतिनिधिमण्डलले आइतबार प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग भेटी निर्वाचनको मौन अवधि सुरु भएपछि पनि आचारसंहिता र निर्वाचन कसुर र सजाय ऐनविपरीत विभिन्न कार्य भएको भन्दै उजुरी गरेको छ ।

एमालेका सचिव युवराज ज्ञवाली र निर्वाचन विभागका प्रमुख अग्नि खरेलले प्रमुख आयुक्तसँग भेटी आचारसंहिताविपरीतका घटना रोक्न ध्यानाकर्षण गराएका हुन् । उजुरीमा सिरहा क्षेत्र नं ५ को मर्दनाह, गौतारी, कल्याणपुर कालाबजार, बडारा मालको वडा नं ६, ७ को क्रमशः बथानटोल र भुल्कियामा रहेका मतदान केन्द्रमा एमाओवादीले अन्य दलका कार्यकर्तालाई प्रवेशमा निषेध गरेको प्रचार सामग्री वितरण गर्न नदिएको र बुथ प्रतिनिधि बस्ने व्यक्तिलाई धाकधम्की दिने गरेको उल्लिखित छ ।

यस्तै, रुकुम क्षेत्र नं २ को पूर्तिमकाँडा, विजेश्वरी, बाफिकोट, आठबीसकोट, दुली र गोतामकोटमा एमाओवादीले वाइसिएलको अस्थायी शिविर स्थापना गरी स्थानीय मतदातालाई मत हाल्न गए अप्रिय घटना हुने भनी धम्की दिएको, काठमाडौँमा जनादेश पत्रिका र एबिसी टेलिभिजनले आचारसंहिताविपरीतका समाचार सम्प्रेषण गरेको, चितवन क्षेत्र नं २ को पिठुवा गाविस– ६ र ९ मा अस्थायी वाइसिएल शिविर खडा गरिएको बारेमा पनि एमालेले उजुरी गरेको छ ।

एमाओवादीद्वारा काँग्रेसमाथि जाहेरी दर्ता

सोलुखुम्बु– अखिल क्रान्तिकारी देउसा मावि एकाईकी सदस्य रश्मि राईको हत्यामा संलग्न भएको आरोपसहित नेपाली काँग्रेसका कार्यकर्ताविरुद्ध एकीकृत माओवादी जिल्ला संगठन समितिले किटानी जाहेरी दिएको छ ।

घटनामा संलग्न भएको भन्दै एमाओवादीले काँग्रेसका पदम भनिने राज राई, अजय राई भनिने युवक राईलगायत अन्य १७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा किटानी जाहेरी दर्ता गरेको हो । एकाईकी सदस्य रश्मि राई गत कात्तिक २७ गते उनको घरभन्दा केही तल बर्खु खोलाको तीरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । राईको हत्या काँग्रेस कार्यकर्ताले गरेको एकीकृत माओवादीको दाबी छ ।

घटनामा संलग्न भनिएका अजय राईलाई गिरफ्तार गरिसकेको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए । किटानी  जाहेरीमा नाम परेका अन्य आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिने निरीक्षक गिरीले बताए । काँग्रेसले पनि विज्ञप्तिमार्फत रश्मिको हत्यामा दलको संलग्नता नरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us