सीमा नाकाहरुमा सिल, मदिरामा रोक

काठमाण्डु टुडे २०७० मंसिर २ गते १४:०९ मा प्रकाशित

naka-bandaकाठमाण्डु, २ मंसिर– निर्वाचन सुरक्षालाई ध्यान दिइदैं देशका अधिकांश सीमा नाकाहरु आइतबारबाट सिल गरिएको छ । उत्तरमा चीन र दक्षिणमा भारतका जाने सीमा नाकाहरुलाइ स्थानीय प्रशासनहरुले सिल गरेका हुन् ।

यसअघि पनि तीब्बतसँग जोडिएका रसुवाको नाका र तातोपानी नाका बन्द गरिसकेको थियो । त्यस्ते भारतसँग जोडिएका केही नाकाहरु शुक्रबारदेखि नै बन्द गर्ने क्रम सुरु गरिएको थियो । यसैबीच आयतबार लगभग सबै नाकाहरु प्रशासनले बन्द गराएको छ भने निर्वाचन सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्रि वितरणमा पनि रोक लगाएको छ ।

आइतबारै खुल्ला सीमा रहेको रौतहटमा चुनावी सुरक्षालाई मध्यनजर गर्दै  नेपाल–भारत सीमा सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेका अनुसार सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल–भारत सीमामा ओहरदोहर गर्न रोक लगाइएको हो ।

सिमानामा सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ भने मदिराजन्य पदार्थको ओसारपसार, प्रयोग र बिक्री वितरण गर्न नपाइने भएको छ । त्यस्तै सर्वसाधारणको आवतजावत पनि बन्द गरिएको उनले बताए ।

त्यस्तै सुरक्षा दृष्टिकोणले संवेदनशील जिल्लाको रुपमा रहेका सिरहाका सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । दुई साता अगाडि भारतीय प्रशासन र सिरहाका प्रजिअ, नेपाल र सशस्त्र प्रहरीका एसपीबीच निर्वाचनको तीन दिन अघिदेखि आवतजावत र सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको थियो ।

निर्वाचनमा आपराधिक तथा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । नेपालका आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति तथा तराईका भूमिगत समूहसँग आबद्ध व्यक्तिहरु भारतीय सहरमा बस्दैआएको प्रहरी स्रोतको दाबी छ ।

जनकपुरमा आसन्न संविधानसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल– भारतबीच रहेको खुल्ला सीमा आइतबार बिहान ७ बजेदेखि बन्द गरिएको छ । महोत्तरी जिल्लाको मुख्य नाकाको रुपमा रहेको भीठ्ठामोडलगायत अन्य छोटी नाकाहरु पनि आइतबार बिहान ७ बजेदेखि मङ्सिर ५ गते बिहान (७२ घन्टा) सम्म सीमा बन्द गरिएको राजस्व एवम् भन्सार गस्ती सुरक्षा मुख्यमा डिएसपी गगन श्रेष्ठले बताए ।

सीमा बन्दबारे गरिएको सहमतिका आधारमा दुवै देशका सुरक्षा अधिकारीले सीमा बन्द गरेका हुन् । यसैगरी, धनुषामा पनि आज बिहानदेखि सीमावर्ती नाका बन्द गरिएको सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जनाएका छन् ।
मदिरामा रोक

चितवन– निर्वाचनलाई ध्यानमा राखेर स्थानीय प्रशासनले साँझ मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित रुपमा सम्पन्न गर्न संविधानसभा सदस्य निर्वाचन आचरसंहिता २०७० को दफा ६८ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) अनुसार मदिरा बिक्रीमा रोक लगाइएको  जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।

प्रशासनले एक सूचना जारी गर्दै साँझ ७ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने जनाएको छ । सूचनाविपरीत उल्लिखित समयमा मदिरा बिक्री गरेको र सेवन गरेको पाइएमा दुवै पक्षलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनद्वारा जारी सूचनामा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us