नेकपा-माओवादीका दुई कार्यकर्ता पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर २ गते ११:०१ मा प्रकाशित

pakrau-arrestसप्तरी, २ मंसिर– निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा सप्तरीको हनुमाननगरबाट प्रहरीले आइतबार मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

हनुमाननगर बजारमा घुमिरहेका बेला प्रहरीले नेकपा–माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया इञ्चार्ज बच्चेलाल सरदार र नेकपा–माओवादी निकट दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष फरेबी सदालाई नियन्त्रणमा लिएको माओवादीको युवा जनपरिचालन समिति संयोजक अरुणकुमार यादवले जानकारी दिए ।

निर्वाचनका मुखमा निर्वाचन विरोधी गतिविधि गर्न सक्ने आशङ्कामा दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि गत बुधबार प्रहरीले सप्तरीको महुलीबाट नेकपा–माओवादीका जिल्ला सेक्रेटरी दीपेन्द्र माझीलाई नियन्त्रणमा लिई सार्वजनिक अपराध मुद्दा चलाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us