
काठमाण्डु, २ मंसिर– संविधानसभाको निर्वाचनका दुई दिनअघि आइतबार देशका केही स्थानहरुमा बम प्रहार तथा शंकास्पद वस्तु भेटिएको छ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन बहिष्कार गर्दै बिथोल्ने घोषणा गरेको अवस्थामा निर्वाचनको पूर्वसन्ध्यामा बम प्रहार हुने तथा शंकास्पद वस्तुहरु भेटिने क्रम जारी छ ।
ट्रकमा बम प्रहार
चितवन– चितवनको व्यस्त बजार नारायणगढस्थित न्युरोडमा आज पानी बोक्ने मिनिट्रकमा पेट्रोल बम प्रहार भएको छ । नचिनेको एक समूहबाट बा १ ख ९५५४ नम्बरको प्योर ड्रप मिनरल वाटरको गुडिरहेको गाडीमा पेट्रोल बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सो क्रममा गाडीका चालक र सहचालक घाइते भएका छन् । चालकको अवस्था गम्भीर भएकाले उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा चालक गोरखा निवासी वर्ष ३० का अस्मिन गुरुङ रहेको र सहचालकको परिचय नखुलेको चितवनका प्रहरी प्रवक्ता सञ्जय राउतले बताए ।
बम प्रहार गर्नेहरु फरार छन् । यता चितवनको मालपोत चोकमा पनि आजै बम फेला परेको छ । सो क्षेत्रको बम भने सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।
विभिन्न ठाउँमा शङ्कास्पद वस्तु
म्याग्दी– संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा म्याग्दीका विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला परेको छ । ग्रामीण भेगमा खतरा लेखिएका र शङ्कास्पद तवरले राखिएको वस्तु भेटिएपछि स्थानीयवासीमा त्रास बढेको छ ।
सिङ्गा गाविसको तातोपानी, कुहँु, पुलाचौर, भगवतीलगायतका गाविसमा शङ्कास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सिङ्गाको तातोपानी बजारमा रहेको तातोपानी बहुउद्देश्यीय सहकारी संस्थाको अगाडिको बाटोमा शङ्कास्पद वस्तुको बाहिरपट्टि खतरा लेखेर राखेको भेटिएको थियो ।
त्यस्तै पुलाचौर गाविस भवन नजिकै शङ्कास्पद तवरले राखिएको ग्यास सिलिन्डर र कुहँु–३ मा रहेको प्रवेशद्वार नजिकै पनि कालो प्लास्टिकले बेरेको शङ्कास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार भगवती गाविस भवन अगाडि रहेको सभाहलको छतमा समेत शङ्कास्पद वस्तु फेला परेको छ । शङ्कास्पद वस्तु भेटिएको ठाउँमा जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको इन्द्रवक्स गणको बम डिस्पोजल टोली खटिएर निष्क्रिय पारेको छ ।
सबै ठाउँमा भेटिएका शङ्कास्पद वस्तु निष्क्रिय बनाउँदा ती वास्तविक बम नभई त्रास फैलाउन मात्र राखिएको पाइएको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
त्यस्तै शनिबार साँझ बरंजा–८ बुकेनीमा समेत शङ्कास्पद वस्तु भेटिएको थियो । सडकमा प्रेसर कुकरलाई शङ्कास्पद तवरले सडकमा राखेको भेटिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न ठाउँमा शङ्कास्पद वस्तु भेटिएपनि ती कसले र किन राखेको भन्नेबारे प्रष्ट भएको छैन ।
प्रचण्डकै क्षेत्रको एमाओवादी कार्यालयमा बम
सिरहा– सिरहाको असनपुर–६ गोलबजारस्थित एकीकृत नेकपा माओवादी अध्यक्षको क्षेत्रीय सम्पर्क प्रचारप्रसार कार्यालय अगाडि फेला परेको सकेट बम सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको छ ।
कालो प्लास्टिकको झोलाभित्र ६ इन्च लामो सकेट बम फेला परेको थियो । कार्यालय खोल्न पुगेका एमाओवादीका नेताले शङ्कास्पद वस्तु देखेर प्रहरीलाई खबर गरेका थिए । बम भेटेको स्थानलाई केहीबेर सुरक्षाकर्मीले चारैतिरबाट घेरा हालेर बसेको थियो । सेनाको प्राविधिक टोली आएपछि बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक विमल पराजुलीले बताए ।
बम कसले राखेको हो भन्नेबारे केही खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पराजुलीले बताए । केही दिन अगाडि मात्र गोलबजारको दुई स्थानमा कुकर र सकेट बम फेला परेको थियो ।
सडकमा बम
बझाङ– जयपृथ्वीबहादुर सिंह राजमार्गअन्तर्गत बझाङको भाँडेबगर सडकखण्डमा बम फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार सडकमा खतरा लेखेर राखेको वस्तु देखिएको खबर स्थानीयवासीले गरेका थिए ।
प्रहरी नायब उपरीक्षक जयराम सापकोटाको नेतृत्वमा सेना र र प्रहरीको टोली बम राखिएको स्थलतिर हिँडेको प्रमुख जिल्ला अधिकारी उद्धवराज तिमिल्सेनाले जानकारी दिए । बम राखिएको स्थान सदरमुकामबाट करिब २० किमिको दूरीमा रहेको छ । शनिबार पनि दङ्गाजी गाविसको दुईवटा मतदान केन्द्रमा राखिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो ।
बम बनाउने सामान बरामद
नेपालगन्ज– बाँके जिल्ला बिनौना गाविस–१ स्थित सन्तपुर नर्सरीमा लुकाइराखिएको बम बनाउने सामान प्रहरीले बरामद गरेको छ ।
प्रहरीले सो स्थानबाट गन पाउडर तीन किलो, नेती लाइट आधा किलो, ठूलो बेरिङ १४ थान, फलामको गोटी १४ थान, साइकलको छर्रा आधा किलो, केप दुई बन्डल, बटुवा धाँगो एक गोला, फिटकिरी आधा किलो, सोडा एक किलो लगायतका विस्फोटक सामग्री बरामद गरेको हो ।
बरामद गरिएका ती वस्तु नेपाली सेनालाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ
खुँडा प्रहारबाट तीन घाइते
दमौली– तनहुँको काहुँशिवपुर–७ चैनपुर नजिकै अँइतबार दिउँसो नचिनेका मानिसको समूहले आक्रमण गर्दा नेपाली काँग्रेस भीरकोट गाउँ कार्यसमितिका सभापति टुनबहादुर नेपालीसहित तीन जना घाइते भएका छन् ।
आक्रमणमा परी घाइते हुनेमा नेका भीरकोट कार्यसमितिकै सचिव भोजराज रानाभाट र भीरकोट– १ ढुङ्गाडेका भरत काफ्ले रहेका छन् । भीमादबाट भीरकोटतर्फ जाँदै गरेको भीरकोटका सभापति चढेको ग७प ४९५९ नम्बरको मोटरसाइकललाई सो ठाउँमा रोकेर माक्स लगाएर आएका चार जनाले खुँडा प्रहार गरी घाइते बनाएको हो ।
खुँडा प्रहारबाट सभापति नेपालीको टाउकोमा गहिरो चोट लाग्नुका साथै हात र खुट्टा छियाछिया भएको घाइतेमध्येकै अर्का भरत काफ्लेले बताए । प्रहरी चौकी भीरकोटका प्रहरी नायब निरीक्षक अमृतबहादुर लामिछानेले चार जनाको समूहले उनीहरुमाथि खुँडाले आक्रमण गरेको बताए ।
टाउकोमा गहिरो चोट लागेका नेपालीलाई नेपाली सेनाको गाडीमा राखेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भीमाद पुर्याइएको प्रहरीले जनाएको छ । आक्रमणकारीको खोजी भइरहेको प्रहरी उपरीक्षक गोपीमान श्रेष्ठले बताए । नेकपा–माओवादीद्वारा आह्वान गरिएको बन्दका क्रममा भएको उक्त आक्रमण माओवादीकै कार्यकर्ताले घटाएको प्रहरीले अनुमान लगाएको छ ।