निर्धक्क मतदान गर्न रेग्मीको आह्वान (सम्बोधनको पूर्ण पाठ)

काठमाण्डु टुडे २०७० मंसिर २ गते १७:४७ मा प्रकाशित

Khilraj regmi sambidhanकाठमाण्डु, २ मंसिर– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आम जनतामा निर्धक्क भएर संविधानसभाको निर्वाचनमा मतदान गर्न आह्वान गरेका छन् । उनले विशेष सुरक्षा रणनीतिमार्फत सुरक्षा व्यवस्थालाई मजबुद र जनमैत्रै बनाएकोले आफूले रोजेको दल तथा उम्मेदवारलाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका हुन् ।

आइतबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै रेग्मीले देशमा विभिन्न हिंसात्मक गतिविधिका साथमा निर्वाचन विरोधी भइरहेको उल्लेख गर्दै भने, ‘प्रतिकुलतालाई अनुकलातामा बदली भविष्यप्रति आशावादी हुन आग्रह गर्दछु ।’ निर्वाचनका समयमा जनधनप्रति उत्तरदायी हुँदै सरकारले आवश्यक सुरक्षा व्यवस्था मजबुद बनाएको उल्लेख गर्दै ऐतिहासिक संविधानसभाको निर्वाचनलाई अवसरको रुपमा प्रयोग गर्न रेग्मीले आम मतदातालाई आग्रह गरेका छन् ।

उद्योगी तथा जनताले स्वःस्फूर्त रुपमा गरेको बन्द र आमहड्तालको अवज्ञाबाट उत्साहित भएको उल्लेख गर्दै रेग्मीले भने, ‘एकातिर शान्तिपूर्ण आन्दोलन गर्ने भन्ने, अर्कोतिर तोडफोड र आगजनी तथा विष्फोटका कार्यहरुको गरेकोमा घोर भत्र्सना गर्दछु ।’ सम्बोधनबाट रेग्मीले बन्दका क्रममा घाइते बनाउने र बल प्रयोग गरी मतदानको अधिकार बञ्चित गराउन खोज्नु राजनीतिक कार्य हुन नसक्ने स्पष्ट पारे ।

अध्यक्ष रेग्मीले देशवासीको नाममा गरेका सम्बोधनको पूर्ण पाठः

आदरणीय दिदीबहिनी तथा दाजुभुभाइहरु,

१. नेपाली राजनीतिक इतिहासको विशेष परिस्थितिमा २०७० मंसिर ४ गते हुनलागेको संविधानसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा यहाँहरुलाई  सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा नेपालको राजनीतिक संघर्षका विभिन्न आन्दोलनहरुमा देश र जनताको पक्षमा लाग्ने  क्रममा आफ्नो प्राण उत्सर्ग गरी सहादत प्राप्त गर्नुभएका समस्त सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु । उहाँहरुका परिवारजनप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै घाइते र अङ्गभङ्ग हुनुभएका सबैप्रति स्वास्थ्यलाभको कामना गर्दछु । साथै, हालै भएका बन्द, हड्ताल, आगजनीको क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दछु र मृत्युवरण गर्नुभएकाप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते एवं अङ्गभङ्ग हुनुभएका महानुभावहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु ।

२. स्वाभिमानी, इमान्दार र पराक्रमीको रुपमा विश्वमा परिचित हामी नेपालीहरुको अखण्डता, सामाजिक सद्भाव र एकता सँधै उदाहरणीय रहँदै आएको छ । विश्व मानचित्रमा नेपाल र नेपाली सँधै सार्वभौम राष्ट्र र गौरवशाली नागरिकका रुपमा स्थापित छौँ । ऐतिहासिक कालखण्डदेखि वर्तमान समयसम्म विभिन्न राजनीतिक व्यवस्था र सामाजिक रुपान्तरणको प्रक्रियामा अभिमुख हुँदै हामी नेपाली देशलाई सुखी, शान्त रसमृद्ध बनाउन सदा अग्रसर भइआएका छौं । हाम्रा अग्रजहरुले लोकतान्त्रिक गणतन्त्र, मानवअधिकार र विधिको शासनजस्ता मूल्य र मान्यतालाई स्थापित गर्न गरेका संघर्ष र नेपालको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि गरेका प्रयत्नहरु आजपर्यन्त सबैका लागि प्रेरणाका श्रोतका रुपमा रहेका छन् । तसर्थ, यी उपलब्धिहरुलाई सँस्थागत गर्ने विशेष जिम्मेवारी रहेकाले हामी सबै एकताबद्ध भई अघि बढ्नु अत्यावश्यक छ ।

३. वर्तमान समयसम्म आइपुग्दा हामीले गरेका संघर्ष र त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रयत्नमा हामी धेरै हदसम्म सफल भएका पनि छौ । तथापि, नेपालमा राजनीतिक रुपान्तरणसँगै आमजनसमुदायले अभिव्यक्त गरेका सामाजिक तथा आर्थिक विकासका पक्षमा आशातीत् सफलता हासिल गर्न नसकेको अवस्था हामी सबैलाई अवगत नै छ । विश्वव्यापीकरणसँगै हाम्रा मित्रराष्ट्रहरुको नागरिकका जीवनमा आमूलपरिवर्तन भइसक्दा पनि हामी राजनीतिक प्रणालीको स्थायित्वका लागि नै संघर्षरत् हुनुपरेका कारण आमनागरिकमा निराशा उत्पन्न हुनु स्वाभाविक मान्नुपर्ने हुन्छ, तापनि, यस्ता विषयहरुमा निराश भएर मात्र राष्ट्रको रुपान्तरणको प्रक्रिया सफल हुन सक्दैन ।

आज विश्वमा विकसित र समृद्ध मानिएका कतिपय देशहरुको ऐतिहासिक अवस्थाको अध्ययन गर्दापनि ती देशहरु थुप्रै जटिलताहरु पार गरेर आजको अवस्थामा आएको पाइन्छ – जहाँ प्रतिकूल अवस्था रहँदारहँदै पनि एकताबद्ध भई आत्मविश्वासका साथ गरिएकाप्रयत्नहरुका कारण आज ती देशहरुले आफूलाई समृद्ध देशका रुपमा स्थापित गर्न सक्षम भएका छन् । त्यसैले, हामी सबैले प्रत्येक प्रतिकूल अवस्थालाई अनुकूलतामा रुपान्तरण गरी भविष्यप्रति आशावादी हुँदै आफ्नो क्रियाशीलता कायम राख्नुपर्दछ भन्ने मेरो दृढ विश्वास छ ।

४. देशको शासन व्यवस्थालाई समयानुकूल परिवर्तन गरी मुलुकको सर्वाङ्गीण विकास गर्दै युग सुहाँउदो सामाजिक परिवेश निर्माण गर्ने लक्ष्यसहित नेपालमा २०६२/०६३ सालमा ऐतिहासिक जनआन्दोलन सम्पन्न भएको थियो । जनआन्दोलनपश्चात् नेपाली जनताले आफ्नो लागि आफै संविधान निर्माण गर्ने उद्देश्यले २०६४ साल चैत्र २८ गते सम्पन्न भएको संविधानसभा निर्वाचनमार्फत गठित तत्कालिन संविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै सो सभाले नेपाली जनताको चाहना अनुरुपको संविधान निर्माण गर्ने प्रक्रिया प्रारम्भ गरेको थियो ।

तथापि, संविधान लेखन कार्यले पूर्णता नपाउँदै तत्कालिन संविधानसभा विघटन हुनपुगेका कारण हाम्रो संविधान लेखनको चाहना साकार हुन त सकेन नै, संविधानसभा विघटन सँगसँगै देशमा एकैपटक संवैधानिक तथा राजनीतिक जटिलताको स्थिति उत्पन्न हुनपुग्यो । तर, मुलुकको अग्रगमनको प्रक्रिया निरन्तर चलिरहने हुँदा त्यस्तो विशिष्ट अवस्थाको संवैधानिक तथा राजनैतिक जटिलता हटाउने तात्कालिक प्रबन्ध गरी संविधानसभाको अर्को निर्वाचन गर्ने प्रयोजनका लागि वर्तमान सरकार निर्माण भई पुनः संविधानसभा निर्वाचन सम्पन्न हुन गइरहेको अहिलेको विशिष्ट परिस्थितिबारे यहाँहरुलाई जानकारी नै छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभुभाइहरु,

५. नेपाली जनताले चाहना गरेको अग्रगामी परिर्वतनका लागि यतिबेला इतिहासले दिएको विशेष अवसरका रुपमा यही मंसिर ४ गते सम्पन्न हुन गैरहेको संविधानसभा निर्वाचन रहेको छ । यस निर्वाचनले नेपाली जनताको चाहनाअनुरुपको संविधान निर्माण गर्ने संविधानसभा र जननिर्वाचित सरकारको निर्माण गरी नेपाललाई रुपान्तरणको प्रक्रियामा अग्रसर गराउनेछ भन्ने हाम्रो दृढ विश्वास छ । देशको विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनका क्रममा हाम्रोजस्तो बहुल समाजमा पृथक–पृथक धारणाहरु पनि नसुनिएका होइनन् ।

तर, विद्यमान संक्रमणकाललाई अन्त्य गरी मुलुकलाई राजनैतिक निकास दिने एकमात्र उपाय संविधानसभा निर्वाचन भएकाले यो निर्वाचन गराउने पवित्र उद्देश्य लिई गठन भएको यस सरकारले भयरहित वातावरणमा अधिकाधिक जनसहभागितासहित स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गबाट निर्वाचन सम्पन्न गर्न विगत आठ महिनादेखि गरेका सबै कार्यले सफलता प्राप्त गर्दै आज हामी मतदान गर्ने कार्यक्रमको सँघारमा आइपुगेका छौँ ।

संविधानसभा निर्वाचन सम्पन्न गराउने काममा आमजनसमुदाय, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, पेसागत संघ संगठन, अन्तर्राष्ट्रिय समुदाय लगायत सबैको अभूतपूर्व सहयोग, सहकार्य र प्रोत्साहनबाट अपेक्षित सफलता हासिल गर्न सम्भव हँुदै आएको छ । निर्वाचनमा शान्तिसुरक्षाको महत्वलाई आत्मसात गर्दै निर्विघ्नतापूर्वक निर्वाचन सम्पन्न गर्न सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको छ । राज्यको प्रथम दायित्व शान्तिसुरक्षा भएकाले सबैलाई सुरक्षाको प्रत्याभूति गराउन सरकार दृढ रहेको कुरा पटक–पटक सार्वजनिक भैसकेको छ ।

यता केही दिनदेखि निर्वाचन बहिष्कार गर्ने प्रयोजनका लागि आव्हान गरेको भनिएको बन्द र हड्ताललाई तिरष्कार गर्दै आमजनसमुदाय, नागरिक समाज, सञ्चारमाध्यम, व्यवसायी, उद्यमी लगायत सबैले स्वःस्फूर्त रुपमा अवज्ञा गरी जनजीवन सामान्य भइरहेको अवस्थाबाट हामी थप उत्साहित भएका छौँ । लोकतन्त्र, विधिको शासन र मानवअधिकारको प्रत्याभूतिका लागि आमजनसमुदायको सहभागिता कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यसपटकको आमहड्तालमा जनस्तरबाट भएको अवज्ञाबाट पुष्टि भएको छ । सार्वजनिक महत्वको यस कार्यमा आमनागरिकले प्रदर्शन गरेको साहस र जिम्मेवारीबोधका लागि नेपाल सरकारका तर्फबाट सबैलाई धन्यवाद दिन चाहन्छु ।

६. वर्तमान निर्वाचन प्रक्रियाप्रति पृथक धारणा राख्ने दल तथा सोसँग सम्बद्ध मोर्चाका सम्बन्धमा म के भन्न चाहन्छु भने – उहाँहरु नेपाल, नेपाली भूगोल, नेपाली जनताको समस्या र हाम्रो राजनीतिक रुपान्तरणको प्रक्रियाप्रति पूर्ण जानकार हुनुहुन्छ । नेपाली जनताका नाममा राजनीतिक विचारधाराका आधारमा राजनीति गर्छु भन्ने उहाँहरुजस्ता व्यक्ति वा समूहले देशको स्थायित्व, शान्ति र समृद्धिको मार्गप्रशस्त गर्ने यस महत्वपूर्ण निर्वाचनमा आमजनसमुदायको भावनाविपरित कुनैपनि कार्य गर्नुहुनेछैन भन्ने मेरो विश्वास थियो । उहाँहरुले सार्वजनिक रुपमा नै बहिष्कार शान्तिपूर्ण हुने कुराको उद्घोष गर्नुभएको कुरा पनि म यहाँ स्मरण गर्न चाहन्छु । लोकतान्त्रिक प्रणालीमा निर्वाचन प्रक्रियाप्रति विमति राख्दै निर्वाचनमा सहभागी नहुनु उहाँहरुको स्वतन्त्रता र राजनैतिक दलको स्वेच्छाको विषय हो ।

तर, यो निर्वाचन देशको संविधान निर्माण गर्ने संविधानसभाको गठन गर्नका लागि हुने भएकाले यथासम्भव सबै समूह, दल, जाति, वर्ग, क्षेत्र, धर्म, वर्ण, लिङ्ग समेतको प्रतिनिधित्व सुनिश्चित् गराउन समान अवसर प्रदान गर्दै निर्वाचन प्रक्रियामा समावेश गराउने जिम्मेवारी सरकारको पनि भएको कुरालाई बोध गरी पृथक धारणा राख्ने समूहसँग विगतमा पटक–पटक वार्ता गरी उहाँहरुलाई निर्वाचनमा सहभागी गराउन सरकारले हदैसम्मको प्रयास गरेको कुरा सर्वविदितै छ । संविधानसभाको निर्वाचनमा भाग नलिनु एउटा कृुरा हो, तर बहिष्कारको नाममा आफूले सार्वजनिक रुपमा व्यक्त गरेको धारणाविपरित राजनीतिमा हिँसाको प्रयोग हुनु अत्यन्त दुःखदायी विषय हो । जुनसुकै उद्देश्यले गरिएको भएतापनि हिँसाको परिणाम दुःखदायी हुने र त्यसबाट सर्वसाधारण नागरिक नै पीडित हुने भएकालेयस्तो कार्य निन्दनीय छ ।

एकातर्फ निर्वाचनमा आफ्नो सैद्धान्तिक असहमति रहेको भन्दै निर्वाचनमा सहभागी नभई शान्तिपूर्ण बहिष्कार गर्ने भनी प्रचारबाजी गर्ने, अर्कोतर्फ सार्वजनिक स्थानहरुको शान्ति र सुव्यवस्थाको प्रतिकूल हुने कार्य गरी आमजनसमुदायलाई लक्षित गरी विध्वंसात्मक र हिँसात्मक कार्यको सहारा लिई निहत्था यात्रु बसेका सवारी साधन तोडफोड गर्ने, आगजनी गर्ने, सार्वजनिक ठाउँमा बम राखी सर्वसाधारणलाई आतङ्कित पार्ने र ज्यान मर्नेसम्मको कार्य गर्नु मानवताविरोधी एवं अमानवीय कार्य हुन्, जुन कदापि क्षम्य हुन सक्दैन । त्यस्ता अमानवीय, क्रुर एवं हिँसात्मक र कायरतापूर्ण कार्यको म घोर भत्र्सना गर्दछु । साथै, त्यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कानूनबमोजिम कारबाही चलाउन सरकार दृढ संकल्पित रहेको पुनः जानकारी गराउन चाहन्छु ।

सार्वजनिक परिवहनका यात्रुको ज्यानै लिने उद्देश्यले बम प्रहार गरी नाबालक, महिला, ज्येष्ठ नागरिक लगायतका जनताहरुलाई घाइते, अङ्गभङ्ग बनाउने एवं ज्यान मर्नेसम्मको अवस्थामा पु¥याउने र कसैको मताधिकारको प्रयोगबाट वञ्चित गराउन बलको प्रयोग गर्ने कार्य हाम्रो जस्तो लोकतान्त्रिक विचारमा आधारित समाजमा कुनैपनि दृष्टिकोणबाट राजनीतिक कार्य हुनै सक्दैन । संविधानले निर्दिष्ट गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रताले सँधै शान्तिपूर्ण व्यवहार र स्वस्थ राजनीतिक चरित्रको अपेक्षा गर्दछ । राजनीतिक चरित्रभन्दा बाहिर गई सामाजिक सुसम्बन्धमा खलल पर्ने, हिँसात्मक कार्य गर्न दुरुत्साहित गर्ने र अदालतको आदेश पालना नगर्ने जस्ता अभिव्यक्ति संविधान र कानून विपरितको कार्य र गैरजिम्मेवारीपनाको पराकाष्ठा हो ।

अझैपनि म उहाँहरुलाई बन्द, हड्ताल लगायत विरोधका सम्पूर्ण कार्यहरु तत्काल रोकी राजनैतिक व्यवहार प्रदर्शन गर्दै जनभावनाको सम्मान गर्न आग्रह गर्दछु । यसबाट नै आगामी दिनका लागि उहाँहरुको राजनैतिक मर्यादा र भविष्य पनि सुरक्षित अवतरण हुनसक्दछ । संविधान र कानूनविपरित हुने कार्यले निरन्तरता पाएको अवस्थामा सरकार आफ्नो जिम्मेवारीबाट विमुख हुन सक्दैन र आम मतदाता लगायत सबै नागरिकको जीउ, धन र मानवअधिकारको रक्षाको लागि सरकारले प्रभावकारी रुपमा कारबाही गरी दोषीलाई कानूनी दायरामा ल्याउँछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

आदरणीय दिदीबहिनी तथा दाजुभुभाइहरु,

७. अहिले हामी अत्यन्त संवेदनशील घडीमा आइपुगेका छौँ । विशिष्ट परिस्थितिमा इतिहासले नेपाली नागरिकलाई दुईपटक संविधानसभाको निर्वाचनमा भाग लिने अवसर प्रदान गरेको छ । यस निर्वाचनबाट गठन हुने संविधानसभाले नेपालीको चाहनाअनुरुपको संविधान निर्माण गरी संवैधानिक र राजनैतिक निकासको मूल ढोका खोल्दै शान्ति प्रक्रिया सार्थक निष्कर्षमा पु¥याउने विश्वास मैले लिएको छु । यो निर्वाचनले आवधिक निर्वाचनजस्तो वैधानिक सरकार निर्माण गर्ने मात्र नभई नेपाल र नेपालीको सुखद भविष्यका लागि मार्गप्रशस्त पनि गर्नेछ । अहिले गर्न लागिएको संविधानसभा निर्वाचन विगतमा हासिल गरिएका राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने प्रक्रियाको निरन्तरता हो ।

संविधानसभाको निर्वाचन आफैमा लोकतन्त्रको एक महत्वूर्ण अभ्यास भएकाले हाम्रो सहभागिताबाट लोकतन्त्र थप सुदृढ भई यसको सँस्थागत विकासमा नयाँ आयाम थपिने पनि स्पष्ट छ । यो निर्वाचनमा हामीले गरेको मतदानबाट नेपाली जनताको आकांक्षा पूरा भई नयाँ पुस्ताको भविष्य निर्धारण हुनेहुँदा यो निर्वाचनमा भाग लिने प्रत्येक नेपालीको मतको ठूलो महत्व छ । तसर्थ, यस निर्वाचनमा हामी सबै नेपालीको सहभागिता ऐतिहासिकआवश्यकता हो भन्ने मैले ठानेको छु । नेपालको भविष्य निर्धारण गर्ने यति ठूलो सार्वजनिक महत्वको कार्यमा सिङ्गो देश एकताबद्ध भई एउटा लोकतान्त्रिक विधिमार्फत देशलाई निकास दिने निर्वाचनको कार्यमा जुट्नु हामी सबैको अधिकार, दायित्व र अवसर पनि हो ।

८. आगामी दिनहरु हाम्रो देशको लागि अत्यन्त महत्वपूर्ण हुनेछन् । यस अवधिमा हामी सबैले मैत्रीपूर्ण व्यवहार, आपसी सद्भाव र राष्ट्रियताको भावनाबाट अभिप्रेरित भई हाम्रो एकता र विश्वासलाई अझ बढी मजबुत बनाउँदै निर्वाचनलाई सफल बनाउन क्रियाशील हुनुपरेको छ । सिङ्गो देश नै निर्वाचनमय भैसकेको अहिलेको यस्तो उत्साहप्रद समयमा सबैले शान्तिपूर्ण वातावरण र लोकतान्त्रिक व्यवहारमार्फत आफ्नो विवेकका आधारमा मतदान गर्ने कार्यमा अभिमुख हुन अत्यावश्यक छ । हामी नेपालीहरु जस्तोसुकै परिस्थितिमा पनि आफ्नो देशको रुपान्तरण र अग्रगामी निकासका लागि एकजुट भएर कार्य गर्नसक्छौँ भन्ने कुराको जीवन्त उदाहरण प्रस्तुत गर्ने राष्ट्रिय महापर्व एवं ऐतिहासिक अवसरका रुपमा पनि यो निर्वाचन रहेको छ ।

यस अवसरको सदुपयोग गर्दै २०७० मंसिर ४ गतेको मतदान कार्यक्रममा आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रमा पुगी स्वतन्त्र विचार र विवेकका आधारमा आफूले रोजेको राजनीतिक दल र उम्मेदवारलाई निर्भिकतापूर्वक मतदान गरी राष्ट्रलाई सुखद भविष्यतर्फ उन्मुख गराउने कार्यमा सहभागी हुन सम्पूर्ण मतदाताहरुलाई विशेष आग्रहका साथ हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, मतदाताहरुको संविधानप्रदत्त मताधिकारको सुनिश्चित हुनेगरी स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न गर्न सरकारले प्रभावकारी सुरक्षा रणनीति अवलम्बन गरी सुरक्षा व्यवस्था अधिकतम् कडा पारिएकोले पूर्ण रुपमा निश्चिन्त र ढुक्क भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न सम्पूर्ण मतदाताहरुलाई पुनः आव्हान गर्दछु । धन्यवाद ।

२०७० मंसिर २ गते, आइतबार ।।khilraj regmi 1

khilraj regmi 2

khilraj regmi 3

khilraj regmi 4

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us