आफूहरुलाई आतंककारी बनाउन खोजेकोमा वैद्यको आपत्ति

काठमाण्डु टुडे २०७० मंसिर २ गते ११:३४ मा प्रकाशित

काठमाण्डु, २ मंसिर– चुनाव बहिष्कार गर्दै बिथोल्ने घोषणा गरेका नेकपा–माओवादीले आफूहरुलाई आतंककारीको रुपमा परिभाषित गर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

माओवादी अध्यक्ष मोहन वैद्यले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै राज्य शक्तिको दुरुपयोग गर्दै चक्काजामको अवज्ञा गरिएकोले कतिपय दुःखद घटना भएकोमा दुःखित बनाएको जनाउँदै भनेका छन्, ‘कतिपय देशी विदेशी प्रतिगामी शक्तिहरुले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन आतङ्ककारीको रुपमा परिभाषित गर्दै थप दमन निम्त्याउन खोजिरहेका छन् ।’

राष्ट्रघाती तथा जनविरोधी शक्तिहरुले पनि आफ्नो आन्दोलनलाई बदनाम गराउन हिंसात्मक घटनाहरु घटाइरहेका आरोप वैद्यले लगाएको छ । सम्पूर्ण आन्दोलनकारी जनसमुदायहरुलाई ती सबै प्रकारका षड्यन्त्रहरुबाट सजग र सर्तक रहन हामी आग्रह गर्दै वक्तव्यमा ‘मंसिर ४ गते बेलुका ५ बजेसम्मको चक्काजामसहितको बहिष्कार आन्दोलनलाई सशक्त, शान्तिपूर्ण र प्रभावकारी रुपमा सम्पन्न गर्न पुनः प्रतिबद्धता जाहेर गर्दछौं’ भनिएको छ ।

वैद्यले मंगलबार हुन लागेको चुनावलाई राष्ट्रघाती र जनघातीको संज्ञा दिँदै संवाद र सहमतिको विकल्प नरहेको पनि बताएका छन् । संवाद र नयाँ राष्ट्रिय सहमतिको पक्षमा सरकार, राजनीतिक दलहरु र नागरिक समाज सबैबाट सकारात्मक पहलका लागि वैद्यले आग्रह गरेका छन् ।

नेकपा–माओवादीले जारी गरेको प्रेस वक्तव्यः

Press Statement-cpn-maoist-baidhya

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us