कार्टरद्वारा रेग्मीको प्रशंसा, राष्ट्रपतिसँग ‘फ्रेन्च मोडेल’को कुरो

काठमाण्डु टुडे २०७० मंसिर २ गते ९:४६ मा प्रकाशित

jimi carter (2)काठमाण्डु, २ मंसिर– निर्वाचन पर्यवेक्षण गर्न आइपुगेका अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले निर्वाचनका निम्ति वर्तमान सरकारले गरेको प्रयासको अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्याङ्कन र प्रशंसा गरेको बताएका छन् ।

प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उनको नेतृत्वको सरकारले निर्वाह गरेको भूमिकाको कार्टरले प्रशंसा गरेका हुन् । उनले रेगमीसँग भने, ‘संविधानसभा निर्वाचनको तयारीबाट उत्साही छु, नेपालको विशेष परिस्थितिमा हुन लागेको निर्वाचनको तयारी, व्यवस्थापन र सुरक्षा प्रबन्धबाट स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वासमा छु ।’

अध्यक्ष रेग्मीले कार्टर सेन्टरको तर्फबाट निर्वाचन पर्यवेक्षणका लागि कार्टर स्वयम् उपस्थित हुनु भएकामा आभार व्यक्त गरेको रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डले बताए । अध्यक्ष रेग्मीले सरकारद्वारा विशेष सुरक्षा रणनीति अवलम्बन गरेको जानकारी गराउँदै भयरहित वातावरणमा निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताए ।

राष्ट्रपतिलाई कार्टरले ‘फ्रेन्च मोडेल’ सुझाए

त्यस्तै रेग्मीलाई भेटे लगत्तै कार्टर राष्ट्रपति डा. रामवरण यादवसँग पनि राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन् ।

करिब २५ मिनेट भएको भेटमा अमेरिकी पूर्वराष्ट्रपतिले शासकीय स्वरुप र सङ्घीयताका विषयमा सबै पक्षबीच समझदारी कायम गर्ने मिलनविन्दु ‘फ्रेन्च मोडेल’ उपयुक्त हुने धारणा व्यक्त गरेका थिए । राष्ट्रपति डा. यादवले शासकीय स्वरुप र सङ्घीयता नै अब बन्ने संविधानका प्रमुख विषय हुने आफ्नो ठम्याइ कार्टरसमक्ष प्रस्तुत गरेका थिए ।

संविधानसभा निर्वाचनका साथै नेपालको सामाजिक–आर्थिक विकासका लागि भारत, चीन, युरोपेली सङ्घ, अमेरिकालगायत मुलुक र अन्तर्राष्ट्रिय समुदायले सक्दो सहयोग गरिरहेको जानकारी पनि राष्ट्रपतिले दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us