निर्वाचन सफल हुनेमा सबै ढुक्कः गृहमन्त्री

काठमाण्डु टुडे २०७० मंसिर २ गते ८:५५ मा प्रकाशित

madhav-prasad-ghimire-ministerकाठमाण्डु, २ मंसिर- गृहमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचन आयोग र नेपाल सरकार मात्र नभई सर्वसाधारण नागरिक तथा राजनीतिक दलसमेत निर्वाचन सफलताका साथ सम्पन्न हुनेमा ढुक्क रहेको बताएका छन् ।

मङ्गलबार हुने संविधानसभाको निर्वाचन ऐतिहासिक सफलताका साथ सम्पन्न हुने बताउँदे उनले सरकारले सम्पूर्ण सुरक्षा बन्दोबस्ती गरिसकेकाले मतदातालाई निर्धक्क भएर मताधिकारको प्रयोग गर्न आग्रह गरे । गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री घिमिरेले भने, ‘घरबाट मतदानस्थल गई मतदान गरेर घर फर्केर काम गर्ने वातावरण र सुरक्षा व्यवस्थाको सुनिश्चितता सरकारले गरेको छ ।’

अघिल्लो निर्वाचनका तुलनामा गम्भीर प्रकृतिका घटनामा केही हदसम्म कमी नै रहेको बताउँदै मन्त्री घिमिरेले भने, ‘चुनावमा मतदाता आफ्नो मतदान गर्न पाउने अधिकारको प्रयोग गर्न पछि पर्दैनन् ।’ सार्वजनिक यातायातमा रातको समयमा यात्रा गरिरहेका सर्वसाधारणलाई लक्ष्य गरेर पेट्रोल बम प्रहार गर्ने आक्रमणकारीलाई पक्राउ गरेर हदैसम्मको कारबाही गर्ने प्रतिबद्धता जनाउँदै उनले अमानवीय र क्रूर क्रियाकलापमा संलग्न जो कोहीलाई पनि सरकारले कुनै हालतमा छुट नदिने दृढता व्यक्त गरे ।

तोडफोड र आगजनीका घटना गराउने तर त्यसको जिम्मेवारी नलिने कार्य राजनीतिक बेइमानी हो भन्दै गृहमन्त्रीले राजनीतिप्रति विश्वास राख्नेले यस्ता विध्वंशात्मक गतिविधि र आपराधिक क्रियाकलाप त्याग्न सक्नुपर्छ भने । पछिल्लो समयमा भएका तोडफोड र आगजनीका घटनालाई सरकारले ज्यादै गम्भीरताका साथ लिएर व्यावसायिक ढङ्गले सूक्ष्मसँग अध्ययन अनुसन्धान गरिरहेको बताउँदै उनले निर्वाचनका क्रममा हुन सक्ने घटनाका पीडितलाई सरकारले उपचार र क्षतिपूर्तिबापतको खर्च उपलब्ध गराउने विश्वास दिलाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us